१६ जेठ,काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन शनिबारदेखि सुरु भएको छ।
ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमको उद्घाटन कांग्रेस सभापति गगनकुमार थापाले गरेका हुन्।
नेपाल थारु संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद तथा थारु समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन आयोजना गरेको जनाएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको आगामी कार्यदिशा, नीति तथा कार्यक्रम तय गर्ने बताइएको छ।
संघका नेताहरूका अनुसार थारु समुदायको हक, अधिकार, पहिचान, भाषा, संस्कृति तथा राज्यका विभिन्न निकायमा प्रतिनिधित्वका विषयलाई थप सशक्त रूपमा उठाउने उद्देश्यले महाधिवेशन आयोजना गरिएको हो।
महाधिवेशनमार्फत लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्दै संगठनलाई थप सक्रिय, सुदृढ र प्रभावकारी बनाउने लक्ष्य रहेको संघले जनाएको छ।




















