Logo

१६ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद अब पार्टी विभाजनतर्फ उन्मुख भएको छ। महामन्त्री धवलशम्शेर राणा नेतृत्वको असन्तुष्ट समूहले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन विरुद्ध असन्तुष्टि जनाउँदै सामूहिक राजीनामाको तयारी गरेको स्रोतहरूले बताएका छन्।

असन्तुष्ट पक्षले आगामी जेठ १८ गते काठमाडौंको यलो प्यागोडा होटलमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा घोषणा गर्ने तयारी गरेको जनाएको छ। राजीनामापत्रको मस्यौदा समेत तयार भइसकेको बताइएको छ।

राणा समूहले पार्टी नेतृत्वले स्वेच्छाचारी शैली अपनाएको, पार्टीको मूल सिद्धान्त र एजेन्डाबाट विचलित भएको तथा राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई कमजोर बनाएको आरोप लगाएको छ। उनीहरूले संसदमा राजसंस्थाको पक्षमा कुनै प्रभावकारी पहल नभएको र पार्टी नेतृत्व गणतन्त्र सुधारको पक्षमा उभिएको भन्दै प्रश्न उठाएका छन्।

असन्तुष्ट नेताहरूका अनुसार एकता महाधिवेशनपछि पार्टीमा देखिएको सम्भावनालाई नेतृत्वको कार्यशैलीले कमजोर बनाएको छ। प्रतिनिधिसभा निर्वाचन २०८२ मा अधिकांश उम्मेदवारको जमानत जफत हुनुमा पनि नेतृत्वको अकर्मण्यता जिम्मेवार रहेको उनीहरूको दाबी छ।

राणा पक्षले देशभरका जिल्ला र स्थानीय तहसम्म सामूहिक राजीनामाको अभियान विस्तार गर्ने तयारी गरिरहेको छ। यो समूहले राजसंस्थाको पक्षमा रहेका विभिन्न शक्ति र समूहलाई एकै ठाउँमा ल्याएर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ।

पछिल्लो समय राणाले राजावादी अभियन्ता दुर्गा प्रसाईँसँग समेत निरन्तर छलफल गरिरहेको र सहकार्यको सम्भावना बलियो रहेको दाबी गरिएको छ।

यद्यपि, राप्रपाका पूर्वअध्यक्षद्वय पशुपति शम्शेर राणाप्रकाशचन्द्र लोहनी पार्टीमै रहने जनाइएको छ। त्यस्तै, रविन्द्र मिश्र पनि तत्काल राणा समूहमा नजोडिने बुझिएको छ।

संस्थापन पक्षले भने सीमित नेताहरू मात्रै पार्टी छाड्ने दाबी गर्दै त्यसले पार्टीलाई ठूलो असर नपार्ने जनाएको छ। एक पदाधिकारीका अनुसार पार्टीका अधिकांश जिम्मेवार नेता विभाजनको पक्षमा नरहेको र संगठन मजबुत बनाउने दिशामा नै केन्द्रित रहेको बताएका छन्।

राप्रपाभित्र महाधिवेशनको कार्यतालिका, नेतृत्व चयन र पार्टीको वैचारिक दिशालाई लिएर बढ्दै गएको विवाद अब नयाँ राजनीतिक समीकरणको आधार बन्ने संकेत देखिएको छ।


सम्बन्धित समाचार