२२, जेठ काठमाडौं । काठमाडौं र नयाँ दिल्लीबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइ दिने उद्देश्यका साथ परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणको सिलसिलामा भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ ।
भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा जेठ २२ गते त्यहाँ पुग्नुभएका मन्त्री खनाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नर्थ डेस्क (नेपाल–भुटान मामिला) हेर्ने अतिरिक्त सचिव मनु महावरले न्यानो स्वागत गर्नुभयो ।
जेठ २४ गतेसम्म चल्ने यो उच्चस्तरीय भ्रमणलाई दुवै देशले विशेष महत्त्वका साथ हेरेका छन् । स्वदेश प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खनालले यसपटकको भ्रमणमा नेपालको राष्ट्रिय प्राथमिकताका मुख्य मुद्दाहरूलाई भारतीय पक्षसमक्ष स्पष्ट रूपमा राख्ने प्रतिबद्धता जनाउनुभयो ।
नयाँ दिल्लीमा रहँदा उहाँले आफ्ना समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग द्विपक्षीय औपचारिक वार्ता गर्नुहुनेछ । सो अवसरमा नेपाल र भारतबीचको व्यापार प्रवद्र्धन, लगानी आकर्षण, अन्तरदेशीय कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा व्यापार र जनता–जनताबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने जस्ता महत्त्वपूर्ण एजेन्डाहरूमा सघन छलफल हुने कार्यसूची तय भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार यो भ्रमण दुई छिमेकी मुलुकबीच नियमित रूपमा हुने उच्चस्तरीय राजनीतिक संवादकै एउटा कडी हो । यस भ्रमणले नेपाल र भारतबीच रहिआएको कूटनीतिक, ऐतिहासिक तथा बहुआयामिक आपसी सम्बन्धलाई समयसापेक्ष रूपमा अझ बढी बलियो र विस्तारित बनाउने विश्वास लिइएको छ ।
भ्रमणका तय भएका निर्धारित कार्यक्रमहरू पूरा गरी परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्कनुहुनेछ ।

















