Logo

२८ जेठ, काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालका लागि जनस्वास्थ्यको प्रमुख चुनौती बनिरहेको डेङ्गु रोगको प्रकोपलाई जरैदेखि उखेल्न सरकारले एउटा महत्त्वाकांक्षी र दीर्घकालीन रणनीति अघि सारेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ’डेङ्गु रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजना’ तयार पार्दै आगामी पाँच वर्षभित्र डेङ्गुको सङ्क्रमणदरलाई ६० प्रतिशतले घटाउने गृहकार्य थालेको हो ।

तीनै तहका सरकार (सङ्घीय, प्रदेश र स्थानीय) का सबै क्षेत्रलाई एकीकृत रूपमा परिचालन गरेर यस सङ्क्रमणबाट हुने मृत्युदरलाई शून्यनजिक अर्थात् ०.०१ प्रतिशतभन्दा कम गर्ने लक्ष्य योजनामा राखिएको छ ।

विश्वव्यापी तापक्रम वृद्धिका कारण केही वर्षअघिसम्म तराईमा मात्र सीमित रहने डेङ्गु गत वर्ष देशका ७७ वटै जिल्लामा फैलिएको थियो ।

यो वर्ष पनि हालसम्म ६८ जिल्लामा ९१५ जना सङ्क्रमित भइसकेका छन् भने एक जनाको ज्यान गइसकेको छ । मनसुनको सुरुवातसँगै बढ्ने यो प्रकोपलाई रोक्न स्वास्थ्य क्षेत्रको एकल प्रयास मात्र सम्भव नहुने भन्दै समुदाय परिचालन र बहुक्षेत्रीय संलग्नतालाई जोड दिइएको छ ।

‘पूर्वचेतावनी प्रणाली’ देखि हरेक साता ’सफा शुक्रबार’ सम्मको योजना

सरकारले यसपटक परम्परागत विधिभन्दा फरक शैलीमा प्रविधि र समुदायलाई जोड्ने रणनीति लिएको छ । संक्रमण फैलिनुअघि नै जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सचेत गराउन ‘पूर्वचेतावनी प्रणाली’ (Early Warning System) र लामखुट्टेको प्रवेश थाहा पाउनासाथ तत्काल प्रतिकार्यमा उत्रिने ‘एकीकृतवाहक निगरानी प्रणाली’ लाई प्रभावकारी बनाइनेछ ।

योजनाअन्तर्गत लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्न देशैभर हरेक साता विशेष सरसफाइ गर्ने गरी ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ । पार्क, पोखरी र पानीका फोहोराहरू जहाँ लामखुट्टे हुर्किने खतरा बढी हुन्छ, त्यस्ता ठाउँलाई ’शून्य सहिष्णुता क्षेत्र’ घोषणा गरी सरसफाइ गरिने नीति लिइएको छ ।

सर्वसाधारणमा खुला ट्याङ्कीमा पानी भण्डारण गर्ने बानी हटाएर पाइपको पानी उपभोग गर्ने प्रवृत्ति बढाउने, जलाशयहरूमा लार्भा खाने माछा छाड्ने र अति आवश्यक स्थानमा लामखुट्टे मार्ने रसायन छर्किने गतिविधि योजनामा समेटिएका छन् ।

’डेङ्गु टास्क फोर्स’ गठन र स्थानीय तहलाई परिपत्र

रोगको फैलावट रोक्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकको नेतृत्वमा राष्ट्रिय ‘डेङ्गु टास्क फोर्स’ गठन गरिएको छ । कीटजन्य रोग शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालका अनुसार पुस २०८२ यता बिरामी बढेका १९ स्थानीय तहलाई सतर्क रहन परिपत्र गरिसकिएको छ भने थप १० वटामा परिपत्रको तयारी भइरहेको छ । हाल सुनसरी, चितवन, काठमाडौँ, झापा, मोरङ, रुपन्देही, कञ्चनपुर, मकवानपुर, ओखलढुङ्गा र सिन्धुलीमा तीव्र रूपमा डेङ्गु देखिएको छ ।

साउन महिना ’डेङ्गु सचेतना महिना’, ५ करोड बढी बजेट विनियोजन

अस्पतालहरूको पूर्वतयारीका लागि निजी तथा सरकारी क्षेत्रका १७ सय भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई डेङ्गु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा विशेष अभिमुखीकरण दिई तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार विभागमा ८ हजार द्रुत परीक्षण (आरडीटी) कीट मौज्दात रहेको र थप ३० हजार कीट खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

स्थानीय स्तरमा यो अभियानलाई प्रभावकारी बनाउन आगामी साउन महिनालाई ‘डेङ्गु सचेतना महिना’ का रूपमा मनाइने सरकारको तयारी छ । यसअन्तर्गत ’लामखुट्टेको बासस्थान खोजी र लार्भा नष्ट गर्ने’ विशेष अभियान चलाइनेछ । यसका लागि चालू आर्थिक वर्ष २०८२/८३ मा मात्रै ४५० वटा स्थानीय तह र ७७ वटै जिल्लामा गरी कुल ५ करोड रुपैयाँभन्दा बढीको विशेष बजेट विनियोजन गरेर सरकारले आफ्नो तयारीलाई तल्लो तहसम्म पु¥याएको छ ।


सम्बन्धित समाचार