२८ जेठ, चितवन । आफूलाई ‘नेपाल प्रहरीको सीआईडी’ दाबी गर्दै एक महिलालाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी ८ वर्षदेखि फरार रहेका मुख्य अभियुक्तलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ बस्ने ‘सुमन दोङ’ भनिने सुमन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको विशेष प्रहरी टोलीले लामो समयदेखि खोजीको सूचीमा रहेका तामाङलाई यही जेठ २२ गते नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीका अनुसार यो भयानक घटना २०७५ साल असार ७ गते रातिको हो । राति करिब २ बजेको समयमा मोटरसाइकलमा आएका दुई जना पुरुषले एक महिलाको घरमा पुगेर आफूहरू इलाका प्रहरी कार्यालय टाँडीको ‘सीआईडी प्रहरी’ भएको भन्दै धम्क्याएका थिए ।
उनीहरूले ‘तिमीसँग केही जरुरी कुरा बुझ्नु छ, हामीसँग तुरुन्तै हिँड’ भन्दै डरत्रास देखाई पीडित महिला र उनका नाबालक छोरालाई समेत जबर्जस्ती मोटरसाइकलमा हालेका थिए । प्रहरी कार्यालय लैजाने बहानामा उनीहरूले ती महिलालाई जङ्गलतर्फ पुर्याएर सामूहिक बलात्कार गरेका थिए ।
यस जघन्य अपराधमा संलग्न अर्का अभियुक्त, चितवन कालिका नगरपालिका-३ का पुटम थिङलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको थियो । थिङमाथि अनुसन्धान पूरा गरी दायर गरिएको मुद्दामा चितवन जिल्ला अदालतले उनलाई अपहरण तथा जबरजस्ती करणी कसुरमा दोषी ठहर गर्दै १९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइसकेको छ ।
तर, सोही घटनाका अर्का साझेदार सुमन तामाङ भने कानुनको आँखा छलेर फरार रहँदै आएका थिए । जेठ २२ गते पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि चितवन जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतको आदेशअनुसार उनलाई तत्कालका लागि पुर्पक्षका लागि कारागार चलान गरिएको चितवन प्रहरीले जनाएको छ ।
















