२८ जेठ, वीरगञ्ज । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को निर्माण क्षेत्रमा एक सवारी दुर्घटना हुँदा कार्यरत बाराका एक इन्जिनियरसहित दुई जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित फास्ट ट्रयाक खण्डमा बुधबार राति पिकअप भ्यान सडकबाट करिब १०० फिट तल खोलामा खस्दा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१ ०३३ च २१४४ नम्बरको योद्धा पिकअप भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा परी सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान बस्ने ४२ वर्षीय चालक बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ का २१ वर्षीय इन्जिनियर सूर्य यादवको मृत्यु भएको छ । मृतक बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार हुन् भने यादव फास्टट्रयाक आयोजनामै इन्जिनियरका रूपमा कार्यरत थिए ।
दुर्घटनाको खबर पाउनासाथ नेपाल प्रहरी र नेपाली सेनाको काठमाडौँ–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली तत्काल घटनास्थलमा खटिएको थियो । सुरक्षाकर्मीको टोलीले भ्यानमा सवार दुवै जनालाई भीर र खोचबाट गम्भीर घाइते अवस्थामा उद्धार गरेको थियो ।
राति दुर्घटना भएको र भौगोलिक विकटताका कारण उनीहरूलाई बिहीबार बिहान मात्रै उपचारका लागि हेटौँडा अस्पताल पुर्याउन सकिएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । हाल दुवै जनाको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमै राखिएको छ ।
द्रुतमार्गको निर्माण कार्य तीव्र गतिमा भइरहेका बेला रातिको समयमा भएको यो दुःखद दुर्घटनाले आयोजना परिवार र स्थानीयलाई स्तब्ध बनाएको छ । तीव्र गति वा प्राविधिक गढबढी के कारणले गाडी खोलामा खस्यो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
















