Logo

२८ जेठ, काठमाडौं । सामाजिक सञ्जालमा राजनीतिक दलका नेताहरूलाई लक्षित गरी फैलाइएको गलत र भ्रामक प्रचारबाजीको विषय बिहीबार प्रतिनिधिसभा बैठकमा प्रवेश गरेको छ ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यका रूपमा प्रस्तुत गरिएको फर्जी पोस्टर भाइरल बनेपछि एमाले सांसद यशोदा बरालले सदनमार्फत गम्भीर आपत्ति जनाएकी छन् ।

सांसद बरालले नेकपा (एमाले) जस्तो प्रमुख राजनीतिक दलको नेतृत्वविरुद्ध नियोजित रूपमा चरित्र हत्या गर्ने उद्देश्यले यस्ता भ्रामक सामग्री निर्माण र वितरण भइरहेको भन्दै त्यसलाई असह्य र गैरजिम्मेवारपूर्ण हर्कतको संज्ञा दिइन् ।

उनले सामाजिक सञ्जालको दुरुपयोग गरी दलका शीर्ष नेताको मानमर्दन गर्ने कार्य अक्षम्य रहेको बताउँदै यस्तो हर्कत गर्ने व्यक्ति वा समूहलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरिन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा राजनीतिक दल र नेताहरूलाई लक्षित गरी बनाइने ‘फेक पोस्टर’ तथा गलत सूचनाले समाजमा अनावश्यक भ्रम र द्वन्द्व सिर्जना गरिरहेको छ ।

सांसद बरालले यस्ता आपराधिक र भ्रामक गतिविधि नियन्त्रण गर्न सरकारले विशेष संयन्त्र परिचालन गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् । उनले नेताहरूको छविलाई धुमिल्याउने नियतले गरिएका यस्ता कार्यले लोकतान्त्रिक संस्कारमाथि नै प्रहार गरिरहेको जिकिर गरिन् ।


सम्बन्धित समाचार