Logo

२्८ जेठ, काठमाडां । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनात्मक संरचनालाई थप फराकिलो र समावेशी बनाउने उद्देश्यसहित नयाँ विधान मस्यौदा अघि सारेको छ ।

सहमहामन्त्री विपिन कुमार आचार्य नेतृत्वको विधान संशोधन कार्यदलले १६ सदस्यीय पदाधिकारी र १३६ सदस्यीय केन्द्रीय समितिको प्रस्तावसहितको मस्यौदा केन्द्रीय समितिमा पेस गरेको छ । विभिन्न राजनीतिक समूहसँगको एकता र पार्टीको बढ्दो आकारलाई मध्यनजर गर्दै यो प्रस्ताव तयार पारिएको हो ।

प्रस्तावित मस्यौदाअनुसार पदाधिकारीतर्फ १ सभापति, ३ उपसभापति, २ महामन्त्री, ४ सहमहामन्त्री, १ प्रवक्ता, ३ सहप्रवक्ता, १ कोषाध्यक्ष र १ सहकोषाध्यक्षको व्यवस्था गरिएको छ। साथै, २५ सदस्यीय सचिवालय रहने प्रस्ताव छ । यद्यपि, पार्टीभित्र यस संख्यालाई अझै विस्तार गर्नुपर्ने आवाज पनि उठेको छ ।

स्रोतका अनुसार केन्द्रीय समितिलाई १५१ सदस्यीय र सहमहामन्त्रीको संख्या ९ पुर्‍याउनुपर्ने सुझावहरू आएका छन् । ९ सहमहामन्त्रीमध्ये ७ जनालाई सातवटै प्रदेशको इन्चार्ज, एकलाई सभापतिको सहयोगी र एकलाई संगठनको जिम्मेवारी दिने गरी कार्यविभाजनको मोडालिटीबारे समेत छलफल चलिरहेको छ ।

पार्टी एकीकरणका कारण थपिएका नयाँ नेतृत्व र समूहहरूको व्यवस्थापनका लागि साङ्गठनिक आकार बढाउनुपर्ने बाध्यात्मक अवस्था रहेको कार्यदलका संयोजक आचार्यले बताएका छन् । हाल १२९ सदस्यीय केन्द्रीय समिति रहेको रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने प्रथम महाधिवेशनलाई लक्षित गर्दै यो मस्यौदा अघि बढाएको हो ।

कार्यदलले पेस गरेको उक्त मस्यौदामा केन्द्रीय समितिबाट आउने सुझाव र परिमार्जनका आधारमा अन्तिम रूप दिइनेछ । विशेषगरी, ३ जना उपसभापतिमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्थालाई प्राथमिकताका साथ राखिएको छ ।


सम्बन्धित समाचार