२८ जेठ,काठमाडौं । सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन र स्मार्ट वाच नष्ट गरिएको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले परीक्षा हलभित्र भेटिएका मोबाइल तथा त्यसमा रहेका डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्न–नगराउन गृहमन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको हो।
साथै, अदालतले उक्त विषयमा कारण देखाउ आदेश जारी गर्दै सम्बन्धित पक्षलाई लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ।
अधिवक्ता अनिलकुमार साहसहितले मोबाइल नष्ट गर्ने कार्य गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। रिटमा परीक्षा सकिएपछि जरिवाना लिएर वा अभिभावकको रोहबरमा मोबाइल फिर्ता गर्नुपर्नेमा स्वेच्छाचारी ढंगले नष्ट गरिएको उल्लेख गरिएको छ।
गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट आइफोन, एन्ड्रोइड मोबाइल तथा स्मार्ट वाच गरी ५ सयभन्दा बढी उपकरण जफत गरिएको थियो।
जिल्ला परीक्षा समन्वय समिति सिरहाको निर्णय तथा मधेश प्रदेशका शिक्षामन्त्रीको घोषणापछि प्रहरीले पानी भरिएको ड्रममा डुबाएर मोबाइलहरू सामूहिक रूपमा नष्ट गरेको भिडियो सार्वजनिक भएपछि उक्त घटनाले व्यापक आलोचना खेप्दै आएको छ।
रिट निवेदनमा जफत गरिएका मोबाइल र स्मार्ट वाचको बजार मूल्यका साथै त्यसमा रहेका व्यक्तिगत डाटाको क्षतिको आधारमा प्रभावित विद्यार्थी र अभिभावकलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ।
सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै जफत गरिएका विद्युतीय उपकरण नष्ट गर्ने अभ्यासको कानुनी वैधता तथा नागरिकको सम्पत्ति र व्यक्तिगत डाटाको सुरक्षाबारे बहस थप चर्किएको छ।
















