२८ जेठ, काठमाडौं । मुलुकको सुरक्षा संवेदनशीलतामा गम्भीर चासो देखाइरहेको गृह मन्त्रालयले अहिले चरम बजेट अभावको सामना गरिरहेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा गृहमन्त्री सुधन गुरुङले स्रोत साधनको अभावमा मन्त्रालयका दैनिक कार्यसमेत प्रभावित भएको दुखेसो पोख्दै बजेट थपका लागि संसद्मा पहल गरिदिन सांसदहरूसँग याचना गरेका छन् ।
बैठकमा मन्त्री गुरुङले सुरक्षाकर्मीको परिचालन, जनहितका कार्यक्रम र सीमा सुरक्षाजस्ता संवेदनशील विषयमा पर्याप्त बजेट नहुँदा काम गर्न असहज भएको बताए । उनले भने, ‘अहिले हामीसँग बजेट छैन, हजुरहरूको आवाजको ‘वेट’ हुन्छ, त्यसैले संसदमा एक पटक पहल गरिदिनुहोस्।’
मन्त्रालयलाई बजेट थप गरी न्याय दिन आग्रह गर्दै उनले आर्थिक स्रोतको अभावले समग्र सुरक्षा प्रणालीमै असर पुर्याइरहेको गम्भीर संकेत गरे । सांसदहरूलाई मन्त्रालयको पीडा बुझ्न आग्रह गर्दै उनले बजेट विनियोजनमा भइरहेको कटौतीले सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको प्रस्ट पारे ।
















