२८ जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आसन्न निर्वाचनले ऊर्जा क्षेत्रमा चुनावी सरगर्मी ह्वात्तै बढाएको छ ।
आगामी जेठ २९ गते हुने साधारण सभा तथा नयाँ नेतृत्व चयनको पूर्वसन्ध्यामा वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बन्ने निश्चित भएसँगै, वरिष्ठ उपाध्यक्ष लगायतका अन्य महत्वपूर्ण पदहरूका लागि दुईवटा प्रभावशाली प्यानलहरू चुनावी मैदानमा उत्रिएका छन् ।
जलविद्युत् क्षेत्रमा लामो समयदेखि सक्रिय अनुभवी व्यक्तित्वहरूको नेतृत्वमा खडा भएका बलराम खतिवडा र उत्तम लामा भ्लोनका समूहबीचको यो भिडन्तले इप्पानको भावी दिशा तय गर्नेछ ।
बलराम खतिवडाको नेतृत्वमा गठित प्यानलमा ठूला कर्पोरेट हाउसहरू र व्यावसायिक घरानाहरूको बलियो पकड देखिएको छ । खतिवडाले इप्पानलाई सबैको साझा, सशक्त र एकताबद्ध संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै सुशासन र व्यावसायिक मर्यादामा जोड दिएका छन् ।
उनको समूहले तीन वर्षभित्र इप्पानको आफ्नै प्रशासनिक भवन निर्माण गर्ने, सचिवालयमा हेल्प डेस्क राख्ने र विज्ञहरूको उपसमिति गठन गर्ने योजना अघि सारेको छ । नीतिगत तहमा खतिवडा समूहले १६ हजार मेगावाटको पीपीए तत्काल खुलाउन, वन तथा वातावरणीय प्रक्रियाको झन्झट अन्त्य गर्न र बाढीपीडित आयोजनाहरूको आरसीओडी म्याद थप गराउन ऊर्जा मन्त्रालय तथा प्राधिकरणसँग ठोस साझेदारी गर्ने रणनीति बनाएको छ ।
यता, वर्तमान उपाध्यक्ष उत्तम लामा भ्लोनको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको प्यानलले ‘इप्पान भिजन २०२९’ सार्वजनिक गर्दै स्पष्ट कार्यदिशा प्रस्तुत गरेको छ। भ्लोन टिमले १२ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरूको पीपीए खुलाउन, ‘टेक एन्ड पे’ प्रावधानको पुनरावलोकन गर्दै ‘टेक अर पे’ को सुनिश्चितता गराउन र विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि नीतिगत लबिइङ गर्ने मुख्य एजेन्डा अघि सारेको छ ।
लगानी तथा वित्तीय सुधार र प्रसारण पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको भ्लोनको टिमले कानुनी जटिलताहरूको सरलीकरणमार्फत ऊर्जा निर्यात प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ ।
६८३ जना मतदाता रहेको यस निर्वाचनमा दुवै समूहले आफ्ना एजेन्डाहरू र व्यावसायिक भिजनमार्फत मतदाताहरूको मन जित्ने प्रयास गरिरहेका छन् ।
सरकारी नीतिसँग निजी क्षेत्रको तालमेल मिलाउँदै १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य भेट्ने मुख्य चुनौतीबीच हुन लागेको यो निर्वाचनले इप्पानको आगामी तीन वर्षे यात्राको नेतृत्व चयन गर्नेछ । ऊर्जा उद्यमीहरूको भविष्यसँग जोडिएको यो चुनावी लडाइँले कसलाई इप्पानको कमान्ड सुम्पिनेछ, त्यसको नतिजा जेठ २९ को मतपरिणामले स्पष्ट पार्नेछ ।
















