Logo

२८ जेठ, काठमाडौं । सरकारी छाप र दस्तखतको कीर्ते गर्ने त धेरै सुनिएका थिए, तर बर्दियामा एक दम्पतीले सरकारी कार्यालय नै नक्कली खडा गरी ठगी धन्दा चलाएको रहस्य खुलेको छ ।

प्रहरीले ठाकुरबाबा नगरपालिका–३ बगनाहामा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको नक्कली सरकारी कार्यालय सञ्चालन गर्ने २४ वर्षीय घनश्याम न्यौपाने र उनकी २३ वर्षीया श्रीमती कृपा चौधरीलाई पक्राउ गरेको छ । उनीहरूले सरकारी कार्यालयसँग मिल्दोजुल्दो नाम राखेर साइनबोर्ड, लेटरप्याड र छापसमेत तयार पारी स्थानीयलाई रोजगारी दिने भन्दै ठगी गर्दै आएका थिए ।

अनुसन्धानका क्रममा उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत दाङमा रहेको वास्तविक कार्यालयको नामसँग हुबहु मिल्ने गरी नक्कली विभाग खडा गरेको पाइएको छ ।

कार्यालय सञ्चालनका लागि भाडामा लिएको घरका धनीलाई समेत घरको तला थप्न लगाई भुक्तानी नदिएको र स्थानीयलाई नक्कली नियुक्ति पत्र बाँडेर विभिन्न काममा लगाई ज्याला नदिएको आरोप उनीहरूमाथि छ । घरधनीको जाहेरीपछि सक्रिय भएको प्रहरीले अनुसन्धानका क्रममा उनीहरूको गैरकानुनी धन्दाको पर्दाफास गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार जेठ २० गते पक्राउ परेका उक्त दम्पतीमाथि अहिले थप अनुसन्धान भइरहेको छ। जागिरको प्रलोभनमा परी ठगिने र ज्याला नपाएका पीडितहरूको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

सरकारी संयन्त्रकै दुरुपयोग गरी सर्वसाधारणलाई झुक्याउने यस्तो दुस्साहसले स्थानीय स्तरमा निकै आश्चर्य र आक्रोश पैदा गरेको छ । प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिँदै अन्य व्यक्तिहरू पनि यो गिरोहबाट ठगिएका छन् वा छैनन् भन्ने विषयमा अनुसन्धान केन्द्रित गरेको छ ।


सम्बन्धित समाचार