Logo

२८ जेठ, काठमाडौं । धान रोपाईँको सिजन नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुने हो कि भन्ने किसानको चिन्तालाई सम्बोधन गर्दै सरकारले पर्याप्त मल मौज्दात रहेको स्पष्ट पारेको छ ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षमा हालसम्मकै उच्च परिमाणमा मल आपूर्ति भएको जानकारी दिइन् । मन्त्री चौधरीका अनुसार यस आर्थिक वर्षमा हालसम्म ५ लाख ५८ हजार ५२२ मेट्रिक टन रासायनिक मल भित्रिएको छ, जसमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानका हातमा पुगिसकेको छ ।

मन्त्री चौधरीले हाल गोदाम र प्रणालीमा गरी १ लाख ३८ हजार ८०२ मेट्रिक टन मल मौज्दात रहेको र यसले आगामी दिनमा मलको अभाव हुन नदिने विश्वास दिलाइन् ।

असार मसान्तसम्म करिब ६ लाख मेट्रिक टन मल वितरण गर्ने सरकारको महत्त्वाकांक्षी लक्ष्य रहेको बताउँदै उनले मलको आपूर्तिलाई सहज बनाउन निरन्तर अनुगमन र ताकेता गरिरहेको उल्लेख गरिन् । विशेषगरी धान बालीको मुख्य सिजनलाई लक्षित गर्दै सरकारले असार र साउन महिनाभित्र थप ९० हजार मेट्रिक टन मल भित्रिने सुनिश्चितता गरेको छ ।

आपूर्तिकर्ताहरूसँगको सम्झौतालाई कडाइका साथ कार्यान्वयन गर्न मन्त्रालय लागिपरेको बताउँदै मन्त्री चौधरीले मल वितरण प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको जनाइन् ।

हालसम्मको आपूर्ति तथ्याङ्कले कृषिक्षेत्रमा देखिएको मलको पुरानो समस्यालाई समाधान गर्ने दिशामा सरकार सफल हुँदै गएको मन्त्रालयको दाबी छ । यसले गर्दा आगामी बालीका लागि किसानले समयमै मल पाउने वातावरण बन्ने र उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार