२८ जेठ, काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा लामो समयदेखि धर्नामा बसेका पीडितहरूको आन्दोलनप्रति सरकारले चासो देखाएको छ।
बिहीबार अपराह्न गृहमन्त्री सुधन गुरुङ आफैँ धर्नास्थल पुगेर आन्दोलनरत पक्षसँग प्रत्यक्ष भेटघाट गरेका छन् । विभिन्न माग राख्दै सडकमा संघर्षरत पीडितहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले सरकार उनीहरूको समस्या समाधान गर्न गम्भीर रहेको र मागहरूलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पछिल्लो समय माइतीघर क्षेत्रमा विभिन्न समूहले आ–आफ्ना माग राखेर धर्ना र प्रदर्शन गर्दै आएका थिए। सरकारका प्रतिनिधि नै स्थलगत रूपमा पुगेर संवाद गर्नुलाई आन्दोलनरत पक्षले सकारात्मक रूपमा लिएका छन्। गृहमन्त्रीको यो आकस्मिक भ्रमण र आश्वासनले पीडितहरूमा केही आशा जगाएको छ । मन्त्रालयले अब यी मागहरूलाई कानुनी र प्रक्रियागत रूपमा कसरी सम्बोधन गर्ने भन्नेबारे छलफल अघि बढाउने बुझिएको छ। गृहमन्त्रीको यो कदमले आन्दोलनको मोडालिटीमा के परिवर्तन ल्याउँछ, त्यो भने हेर्न बाँकी नै छ ।
















