३० जेठ, काठमाडौँ । इरान र संयुक्त राज्य अमेरिकाबीच लामो समयदेखि जारी तीव्र सैन्य तनाव अन्त्यका लागि एक ऐतिहासिक सम्झौता हुने तयारी अन्तिम चरणमा पुगेको छ। यस सम्झौतापछि विश्वकै सबैभन्दा रणनीतिक र संवेदनशील जलमार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’ पुनः पूर्ण रूपमा सञ्चालनमा आउने इरानले दाबी गरेको छ।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले त्यहाँको सरकारी टेलिभिजनमार्फत अमेरिकासँग हुन लागेको सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक गर्नुभएको छ। उहाँका अनुसार सम्झौताको मुख्य सर्तका रूपमा इरानमाथि वासिङ्टनले लगाउँदै आएको कडा आर्थिक नाकाबन्दी हटाउने विषय समावेश गरिएको छ ।
जलमार्ग खुला गर्ने र सैन्य तनावलाई तत्काल न्यूनीकरण गर्ने विषयमा दुवै पक्ष सहमत भए पनि इरानको विवादित आणविक कार्यक्रमका बारेमा भने वार्ताको आगामी चरणमा मात्र छलफल हुने विदेशमन्त्री अराघचीले प्रष्ट पारे ।
यता अमेरिकी अधिकारीहरूले पनि सम्झौताका केही महत्त्वपूर्ण बुँदाहरू तय भइसकेको पुष्टि गरेका छन्। यद्यपि, अमेरिकी प्रशासनले इरानले सम्झौतामा गरिएका आफ्ना प्रतिबद्धताहरू पूर्ण रूपमा पालना गरेपछि मात्र आर्थिक लाभ दिइने र नाकाबन्दी फुकुवाको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने सर्त अघि सारेको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानभित्र संयुक्त सैन्य आक्रमण गरेपछि दुई पक्षीय तनाव उत्कर्षमा पुगेको थियो । उक्त आक्रमणको कडा प्रतिवाद गर्दै इरानले इजरायलका साथै खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूलाई निसाना बनाएर जवाफी हमला गरेको थियो ।
सोही सैन्य टकरावका क्रममा इरानले विश्व बजारमा तेल र ग्यास ढुवानीका लागि लाइफलाइन मानिने हर्मुज जलमार्ग ठप्प पारेको थियो, जसका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा ठुलो सङ्कट र हलचल पैदा भएको थियो।














