३० जेठ,काठमाडौं । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ भए पनि यसपटक केही दिन ढिला हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन जुन १५ देखि १६ तारिखसम्म नेपाल प्रवेश गर्न सक्ने अनुमान गरिएको छ।
मौसमविद् सरोज पुडासैनीका अनुसार हाल मनसुन प्रणालीको विस्तृत अध्ययन भइरहेको छ र तत्कालै मनसुन भित्रिने ठ्याक्कै मिति तोक्न सकिने अवस्था छैन। उनले भने, “अहिलेसम्म मनसुन भित्रिने निश्चित मिति भन्न सकिने अवस्था छैन, तर सम्भावना जुन १५/१६ तिर देखिएको छ।”
उनका अनुसार नेपालमा शुक्रबारदेखि नै पूर्वी वायुको आंशिक प्रभाव सुरु भए पनि त्यसलाई मनसुनी वायुका रूपमा मान्न मिल्दैन। मनसुन घोषणा गर्न आवश्यक सबै मौसमीय मापदण्ड पूरा हुनुपर्ने उनले स्पष्ट पारे।
मौसमविद्का अनुसार पूर्वी वायु सक्रिय भए पनि अहिलेको अवस्था मनसुन प्रवेशको औपचारिक मापदण्ड पूरा नभएकाले मनसुन सुरु भएको घोषणा गर्न सकिने अवस्था छैन।
यसपटक मनसुन औसत मितिभन्दा केही दिन ढिला भित्रिने संकेत देखिएसँगै किसानदेखि सर्वसाधारणसम्म मौसम परिवर्तनको प्रतीक्षामा रहेका छन्।














