३० जेठ,काठमाडौं । भारतको असमस्थित जोरहाट रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृत्यु भएको छ। घटनामा एक सह–पाइलट घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमको मृत्यु भएको हो।
भारतीय वायुसेनाले एक्स (Twitter) मार्फत दुर्घटनामा ज्यान गुमाउने पाँच कर्मचारीप्रति गहिरो समवेदना व्यक्त गरेको जनाएको छ।
जानकारीअनुसार सेनाको सामान तथा सामग्री ढुवानीमा प्रयोग हुँदै आएको एएन–३२ विमान नियमित उडानका क्रममा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको हो। अवतरणका क्रममा विमान अनियन्त्रित भई खसेपछि आगलागी भएको र विमान दुई टुक्रा भएको बताइएको छ।
भारतीय वायुसेनाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।