Logo

३० जेठ,काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने कर्णाली करिडोर क्षेत्रको भिरबाट खसेको ढुङ्गा लागेर एक किशोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सर्केगाड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउदको शनिबार बिहान ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार साउद बिहान गाईवस्तु चराउन जङ्गल गएकी थिइन्। बिहान करिब १०ः३० बजे सर्केगाड गाउँपालिकाको थाग्णा क्षेत्रमा कर्णाली करिडोरमाथिको भिरबाट अचानक खसेको ढुङ्गा लाग्दा उनको घटनास्थलमै ज्यान गएको हो।

घटनाको जानकारी बिहान ११ः५० बजे प्रहरी चौकी सर्केगाडमा प्राप्त भएपछि प्रहरी हबल्दार गोबर्द्धन परियारको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलमा खटिएको थियो।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वमा अर्को टोलीसमेत घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।

कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा वर्षायाम र अन्य समयमा समेत ढुङ्गा खस्ने जोखिम रहने गरेको स्थानीयवासी बताउँछन्। पछिल्लो घटनाले करिडोर क्षेत्रका जोखिमयुक्त भिरहरूको व्यवस्थापन, नियमित अनुगमन तथा स्थानीय बासिन्दा र यात्रुको सुरक्षाका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।


सम्बन्धित समाचार
भर्खरै