१ असार, माडी (चितवन)। चितवनको माडी नगरपालिकामा यस वर्ष अघिल्लो वर्षको तुलनामा मकै र चैते धान उत्पादनमा उल्लेख्य वृद्धि हुने संकेत देखिएको छ । हाल बालीहरू अन्तिम चरणमा पुगेका छन् भने कतिपय ठाउँमा चैते धान काटिसकिएको, केही स्थानमा मकै थन्क्याउने र पाक्ने क्रम जारी रहेको किसानहरूले बताएका छन् । समग्रमा यस वर्ष उत्पादन राम्रो हुने देखिएको छ ।
कृषि विज्ञ तथा वैज्ञानिकहरूले सतही सिँचाइलाई प्राथमिकता दिएर काम अघि बढाउन सके कृषि उत्पादन अझै वृद्धि हुने बताएका छन्। उनीहरूको भनाइअनुसार सतही सिँचाइले माटोमा नमी कायम राख्ने, भूमिगत पानीको पुनःभरण (रिचार्ज) बढाउने र दीर्घकालीन रूपमा उत्पादन क्षमता मजबुत बनाउने देखिन्छ ।
माडी नगरपालिकाले कृषि उत्पादन वृद्धि र सिँचाइ व्यवस्थापनलाई ध्यानमा राख्दै केही स्थानमा बोरिङमार्फत सिँचाइ विस्तार गरेको छ भने केही क्षेत्रमा सतही सिँचाइ प्रणालीलाई पनि प्राथमिकतामा राखेर काम अघि बढाएको छ। यसले गर्दा कृषि उत्पादनमा सकारात्मक प्रभाव देखिन थालेको स्थानीय तहको दाबी छ ।
यस वर्षको अवस्थालाई आधार मान्दा अघिल्लो वर्षको तुलनामा मकै र चैते धान उत्पादन राम्रो हुने देखिएको नगर प्रमुखको भनाइ छ। सिँचाइ सुविधा विस्तार, मौसम अनुकूलता र किसानको मेहनतका कारण उत्पादनमा वृद्धि हुने संकेत देखिएको उनले बताइन् ।

यसैबीच माडीमा कृषि र पर्यटन एकैसाथ जोडिन थालेपछि स्थानीय उत्पादनको बजार पनि सहज बन्दै गएको छ। यहाँ सञ्चालनमा रहेका सामुदायिक होमस्टे, निजी होमस्टे, होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा फार्मस्टेहरूमा स्थानीय स्तरमै उत्पादन भएका तरकारी, अन्नबाली र माछाजन्य वस्तुको खपत बढ्दो क्रममा छ ।
पर्यटकहरू माडी भ्रमणका लागि आउँदा त्यहीँ उत्पादन भएका कृषि उपजहरू त्यहीँका होमस्टे र फार्मस्टेमा प्रयोग हुने भएकाले किसानलाई बाहिरी बजार खोज्दै हिँड्नुपर्ने अवस्था कम भएको छ। स्थानीय व्यापारी तथा होटल–पर्यटन व्यवसायीहरूले सिधै किसानसँग उत्पादन खरिद गरी पाहुनालाई सेवा दिने अभ्यास बढ्दै गएको छ। यसले कृषि उत्पादनको स्थानीय खपत बढाउँदै किसानको आम्दानी सुनिश्चित गर्न मद्दत पुर्याएको छ ।
माडीका फार्मस्टेहरू अहिले केवल पर्यटन स्थल मात्र नभई कृषि सिकाइ केन्द्रका रूपमा समेत विकास हुँदै गएका छन्। देश तथा विदेशबाट आउने आगन्तुकहरूले यहाँ आधुनिक कृषि प्रणाली र व्यवसायिक खेतीबारे अध्ययन गर्ने गरेको सञ्चालकहरूले बताएका छन् ।

माडी क्षेत्र माछापालनमा पनि अन्य जिल्लाभन्दा अग्रस्थानमा रहेको स्थानीय सरोकारवालाहरूको भनाइ छ। साथै, अन्नबालीको भण्डारका रूपमा चिनिँदै आएको माडीमा पछिल्लो समय तरकारी खेतीतर्फ पनि किसानहरूको आकर्षण बढ्दै गएको छ। यद्यपि वन्यजन्तुका कारण बाली नोक्सानी हुने समस्या भने किसानका लागि चुनौती बनेको छ ।
समग्रमा कृषि उत्पादन वृद्धि, सिँचाइ विस्तार र कृषि–पर्यटनको एकीकृत विकासले माडीको स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउँदै किसानलाई प्रत्यक्ष लाभ दिन थालेको देखिन्छ ।
















