१ असार,काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५–१ गोलको प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
मेक्सिकोमा सम्पन्न खेलमा स्वीडेनका यासिन अयारीले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। यस्तै, अलेक्जान्डर इसाक, भिक्टर ग्योकेरेस र माथियास स्वानबर्गले समान एक–एक गोल थपे।
ट्युनिसियाका लागि ओमार रेकिकले सान्त्वना गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
जितसँगै स्वीडेनले समूह एफमा महत्वपूर्ण तीन अंक जोडेको छ र अंक तालिकामा बलियो सुरुआत गरेको छ। पराजित ट्युनिसिया भने अंकविहीन बनेको छ।
यसअघि समूह एफकै पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका थिए। उक्त नतिजासँगै नेदरल्यान्ड्स र जापानले समान एक–एक अंक जोडेका छन्।
पहिलो चरणका खेल सकिँदा समूह एफमा स्वीडेन तीन अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेदरल्यान्ड्स र जापान समान एक–एक अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। ट्युनिसिया भने अंकविहीन रहँदै पुछारमा छ।
अब समूहको आगामी खेलमा स्वीडेनले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ भने ट्युनिसियाले जापानको सामना गर्ने तालिका रहेको छ।














