१ असार,काठमाडौं । नेकपा एमालेले विवादित भनिएका सबै प्रकरणका फाइल सार्वजनिक गरी निष्पक्ष छानबिन गर्न सरकारलाई चुनौती दिएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमालेकी उपनेता पद्या अर्यालले गिरिबन्धु टी–स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकतामा राखेर खोल्न सरकारलाई आग्रह गरिन्।
बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षीलाई लक्षित गर्दै ‘फाइल खोल्ने’ चेतावनी दिएको आरोप लगाउँदै अर्यालले सरकारले वास्तवमै सुशासन र पारदर्शिताप्रति प्रतिबद्धता देखाउन चाहेको हो भने सबै विवादित प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने बताइन्।
उनले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडीलगायतका विषयमा पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गरिन्। साथै, छानबिनबाट आरोप पुष्टि नभए आरोप लगाउने पक्षले त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी लिन तयार छ कि छैन भन्ने प्रश्न समेत उठाइन्।
सरकारका जिम्मेवार व्यक्तिहरूले संसदभित्रै विपक्षीलाई धम्क्याउने शैली अपनाएको भन्दै अर्यालले त्यसप्रति आपत्ति जनाइन्। उनले लोकतान्त्रिक अभ्यासमा आरोप–प्रत्यारोपभन्दा तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्नुपर्ने धारणा राखिन्।
यस्तै, उनले परराष्ट्रमन्त्री शिशिर खनालको हालैको भारत भ्रमणका क्रममा व्यक्त अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाइन्। ‘अतीतको बोझ बोक्न सक्दैनौं’ भन्ने मन्त्रीको भनाइले नेपालको राष्ट्रहित र परराष्ट्र नीतिबारे गम्भीर प्रश्न उठाएको उनको तर्क थियो।
अर्यालले उक्त अभिव्यक्ति कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका सीमा विवादसम्बन्धी नेपालको दाबीलाई संकेत गरेको हो कि भन्ने आशंका व्यक्त गर्दै सरकारले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरिन्।
सरकारका मन्त्रीहरूले सार्वजनिक रूपमा व्यक्त गर्ने धारणा राष्ट्रको आधिकारिक नीतिसँग जोडिने भएकाले राष्ट्रिय हित, सार्वभौमिकता र परराष्ट्र नीतिलाई कमजोर पार्ने अभिव्यक्ति दिन नहुने उनले बताइन्।














