Logo

१ असार,काठमाडौं । भारतीय पक्षले नेपाली चिया निर्यातमा विभिन्न प्रक्रियागत अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन्। गुणस्तर परीक्षणको नाममा भारतले डेढ महिनादेखि नेपाली चिया निकासीमा अड्चन पुर्‍याएको भन्दै उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका हुन्।

निर्यात अवरुद्ध हुँदा उत्पादित चियाले बजार नपाएको र ठूलो परिमाणमा चिया गोदाम तथा उद्योगमै थन्किएर बिग्रिने अवस्थामा पुगेपछि बाध्य भएर उद्योग बन्द गर्नुपरेको व्यवसायीहरूको भनाइ छ।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) ले नेपाली चिया निर्यात प्रक्रियालाई जटिल बनाएको छ। यसका कारण भारतीय आयातकर्ताहरू नेपाली चिया खरिद गर्न इच्छुक नरहेको उनले बताए।

उनका अनुसार पहाडी भेगका अर्थोडक्स चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू असार ४ गतेदेखि बन्द हुनेछन्।

भारतीय भन्सारमा नेपाली चियाको नमुना संकलन गरी परीक्षणका लागि पठाउने र प्रतिवेदन आउन १५ देखि २० दिनसम्म लाग्ने प्रक्रियाले आयातकर्ताहरू निरुत्साहित भएको उद्योगीहरूको दाबी छ। परीक्षणमा सामान्य कमजोरी देखिए पनि चिया नष्ट गरिने जोखिमका कारण भारतीय व्यापारीहरू नेपाली चिया किन्न हिच्किचाइरहेका छन्।

नेपाल चिया उत्पादक संघका अनुसार इलाममा वार्षिक करिब ६५ लाख किलो तथा झापामा करिब २ करोड किलो चिया उत्पादन हुने गरेको छ। उत्पादित चियाको करिब ९० प्रतिशत बजार भारत रहेको बताइएको छ।

यसैबीच, सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले भारत पुगेको करिब २ लाख किलो चिया आयातकर्ताको गोदाममै थन्किएको तथा निकासी अवरुद्ध हुँदा १० लाख किलोभन्दा बढी चिया उद्योगमै कुहिने अवस्थामा पुगेको जनाएको छ।

उद्योगीहरूले चिया क्षेत्र यति ठूलो संकटमा पर्दा पनि सरकारले निर्यात सहजीकरण तथा समस्या समाधानका लागि प्रभावकारी कूटनीतिक पहल नगरेको गुनासो गरेका छन्।

उद्योग बन्द भएपछि पहाडी क्षेत्रका ५६ वटा अर्थोडक्स तथा तराईका ३० वटा सीटीसी चिया उद्योग प्रत्यक्ष प्रभावित भएका छन्। यसबाट हजारौं मजदुर र हरियो चिया पत्ती बिक्री गर्ने किसानको जीविकोपार्जनमा गम्भीर असर परेको उद्योगीहरूको भनाइ छ।

उद्योगीहरूले सरकारले भारतसँग कूटनीतिक पहल गरी नेपाली चियाको निर्यात सहज बनाउने विश्वास व्यक्त गर्दै समस्या समाधानका लागि तत्काल पहल आवश्यक रहेको बताएका छन्।


सम्बन्धित समाचार
भर्खरै