Logo

१ असार, काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले सडक आयोजनाको अनुगमनका क्रममा निर्माण व्यवसायीप्रति लक्षित गर्दै अत्यन्तै कठोर र गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् ।

नागढुङ्गा–मुग्लिन सडक खण्डको निरीक्षणका क्रममा मन्त्री लम्सालले बिजुलीको पोल सार्न ढिलाइ गर्ने ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे ‘खुट्टा भाँचिदिन’ निर्देशन दिएका हुन् । मन्त्रीको यस्तो अभिव्यक्तिले सार्वजनिक वृत्तमा र निर्माण व्यवसायीहरूबीच तरंग पैदा गरेको छ ।

आयोजना स्थलमा निर्माण पक्षले बिजुलीको पोल सार्न ढिलाइ हुँदा काम अघि बढाउन अवरोध भएको गुनासो गरेपछि आक्रोशित बनेका मन्त्री लम्सालले भने, ‘यो पोलवाला कन्ट्रयाक्टर जहाँ भए पनि यहाँ ल्याएर राख्नुस् । उसले काम गरेन भने खुट्टा भाँचिदिनुस्, मलाई मतलब छैन ।’ जनताले सडक निर्माणमा ढिलाइका कारण धेरै दुःख पाएको भन्दै उनले काममा कुनै पनि लापरवाही स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

आयोजनाको कामलाई तीव्रता दिन मातहतका कर्मचारीलाई निर्माण सामग्रीको व्यवस्थापनमा सहजीकरण गर्न निर्देशन दिएका मन्त्री लम्सालको शैलीलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ ।

यसअघि पनि उनले काममा ढिलाइ गरेको भन्दै निर्माण व्यवसायीलाई प्रहरी परिचालन गरी नियन्त्रणमा लिन लगाएका थिए, जुन कार्य निकै विवादित बनेको थियो । ९५ किलोमिटर लामो नागढुङ्गा–मुग्लिन सडक खण्डको स्तरोन्नतिमा देखिएको सुस्तता चिर्न मन्त्री लम्सालले आक्रामक शैली अपनाए पनि उनको पछिल्लो अभिव्यक्तिले भने प्रशासनिक मर्यादा र कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।


सम्बन्धित समाचार
भर्खरै