१ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गर्दै आफ्नो सेवा प्रणालीमा महत्त्वपूर्ण सुधार गरेको छ ।
विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले आगामी साउन १ गतेदेखि चार वर्षे स्नातक तहका विभिन्न संकायका ट्रान्सक्रिप्ट वितरण प्रक्रियालाई पूर्ण रूपमा अनलाइनमा लैजाने घोषणा गरेको छ । नयाँ व्यवस्थाअनुसार अब बी.ए., बी.एड., बी.एस्सी. र बी.बी.एस. कार्यक्रमका विद्यार्थीले ट्रान्सक्रिप्टका लागि परीक्षा नियन्त्रण कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
विद्यार्थीहरूले त्रिविको आधिकारिक वेबसाइट www.exam.tu.edu.np मा लग-इन गरी ‘स्टुडेन्ट पोर्टल’ मार्फत आवेदन दिनुपर्नेछ। आवेदनका क्रममा विद्यार्थीले आफ्नो रजिष्ट्रेसन कार्डमा उल्लेख भएअनुसारको विवरण अनिवार्य रूपमा दुरुस्त भर्नुपर्ने र तोकिएको शुल्क पनि अनलाइन प्रणालीमार्फत नै भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस प्रविधिमा विद्यार्थीहरूलाई सहयोग पुर्याउने उद्देश्यले कार्यालयले वेबसाइटमै ‘अनलाइन ट्रान्सक्रिप्ट एप्लिकेसन म्यानुअल’ राखेको छ । साथै, अनलाइन आवेदन भर्ने क्रममा कुनै प्राविधिक कठिनाइ वा अन्य समस्या भएमा त्यसलाई समाधान गर्न बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा विशेष ‘हेल्प डेस्क’ को व्यवस्था गरिएको छ ।
विवरण भर्दा त्रुटि भएमा युजर आईडी सिर्जना नहुने हुँदा विद्यार्थीहरूलाई विशेष सावधानी अपनाउन पनिकाले आग्रह गरेको छ । विश्वविद्यालयको यस निर्णयले विद्यार्थीहरूलाई समय र सास्ती दुवैबाट राहत मिल्ने अपेक्षा गरिएको छ ।
















