१ असार, काठमाडौं । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेशअन्तर्गत कार्यरत कर्मचारीहरूको तलबमा आकर्षक वृद्धि गरेको छ ।
बजेट भाषणका क्रममा प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले प्रदेशका निजामती तथा अन्य कर्मचारीहरूको मनोबल उच्च राख्ने उद्देश्यले तलबमानमा १० प्रतिशतले वृद्धि गरिएको घोषणा गरेका हुन् ।
सरकारले यसअघि कर्मचारीहरूले पाउँदै आएको महँगी भत्तालाई यथावत राख्दै सुरु स्केलका आधारमा १० प्रतिशत तलब वृद्धि गरेको हो । देशको वर्तमान आर्थिक अवस्था र महँगीको मारलाई मध्यनजर गर्दै कर्मचारीहरूको जीवनस्तरमा केही राहत पुगोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको मन्त्री भट्टराईले बताए ।
प्रदेश सरकारको यो निर्णयले मधेस प्रदेशमा कार्यरत हजारौँ कर्मचारीहरू लाभान्वित हुनेछन् । सरकारले तलब वृद्धिलाई कर्मचारीको कार्यसम्पादन र सेवा प्रवाहको गुणस्तरसँग जोडेर हेरेको छ । आगामी आर्थिक वर्षदेखि नै लागू हुने गरी गरिएको यो तलब वृद्धिले कर्मचारीतन्त्रमा थप ऊर्जा र उत्प्रेरणा जगाउने विश्वास लिइएको छ ।
















