३ असार, पर्सा । पटेर्वा सुगौली गाउँपालिकाको गाउँसभाको अधिवेशन अन्तर्गत पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ। गाउँपालिका उपाध्यक्ष ममता महतोले गाउँसभामा आगामी आर्थिक वर्षका लागि ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दै स्वास्थ्य, रोजगार, कृषि, सिँचाइ तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
उपाध्यक्ष महतोले “स्थानीय स्रोत, स्थानीय रोजगारी, एक गाउँ–एक उद्यम, एक पहिचान हाम्रो अभियान” भन्ने मूल नारालाई केन्द्रमा राखेर आगामी वर्षका सम्पूर्ण आर्थिक तथा विकास गतिविधि सञ्चालन गरिने बताउनुभयो। पर्सा जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्री श्री १०८ श्री दुधेश्वरनाथ महादेव (भाथा बाबा) को नगरीका रूपमा परिचित पटेर्वा सुगौली गाउँपालिकाका नागरिकको आवश्यकता सम्बोधन गर्दै छिटो प्रतिफल दिने विकास कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो।
उहाँले कार्यान्वयन गर्न नसकिने योजनाको लामो सूची प्रस्तुत गरेर नागरिकमा भ्रम सिर्जना गर्नु भन्दा कार्यान्वयनयोग्य, संक्षिप्त र परिणाममुखी नीति तथा कार्यक्रम ल्याउनु नै गाउँपालिकाको मुख्य लक्ष्य रहेको स्पष्ट पार्नुभयो।
गाउँसभा बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरूको चर्चा गर्नुभयो। उहाँले ग्रामीण क्षेत्रमा पहिलो पटक १५ शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको जानकारी दिनुभयो। उक्त अस्पताल मधेश प्रदेशका गाउँपालिकामध्ये गाउँपालिकाकै पहलमा निर्माण भएको पहिलो अस्पताल रहेको दाबी गर्दै प्रत्येक महिनाको अन्तिम शुक्रबार स्त्रीरोग तथा बालरोग विशेषज्ञबाट सेवा उपलब्ध भइरहेको बताउनुभयो।
अध्यक्ष चौधरीका अनुसार अस्पतालमा आधुनिक ल्याब, भिडियो एक्स–रे, दन्त उपचार तथा आयुर्वेद सेवा सञ्चालनमा छन्। साथै, एनएसआईसँग सम्झौता भइसकेको र आगामी साउन महिनादेखि ईसीओ तथा शल्यक्रिया सेवा समेत सञ्चालनमा ल्याइने तयारी गरिएको छ। गाउँपालिकामा लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष विजय गैरेले गाउँपालिकाको समग्र विकास निर्माण तथा गतिविधिमा साझा अवधारणा निर्माण गरी कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि संघीय समानीकरण अनुदानतर्फ ९ करोड ४० लाख रुपैयाँ, प्रदेश समानीकरण अनुदानतर्फ ६६ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँडतर्फ ८ करोड ८९ लाख ४४ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडतर्फ ७५ लाख रुपैयाँ, संघीय विशेष अनुदानतर्फ १ करोड रुपैयाँ, संघीय समपूरक अनुदानतर्फ १ करोड २९ लाख रुपैयाँ, संघीय सशर्त अनुदानतर्फ १६ करोड ४० लाख रुपैयाँ, आन्तरिक स्रोतबाट १ करोड ५० लाख रुपैयाँ तथा प्रदेशको अन्य अनुदानतर्फ १ करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।
गाउँपालिकाले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटले स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि तथा स्थानीय आर्थिक विकासलाई केन्द्रमा राखेर समग्र विकासलाई गति दिने अपेक्षा गरिएको छ।
















