Logo

४ असार, काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि भाडा र महसुल नतिर्ने उद्योगहरूविरुद्ध कडा कदम चाल्दै एकैदिन ६३ वटा उद्योगको विद्युत् र पानीको लाइन काटिदिएको छ ।

देशभरका १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले सरकारी जग्गा, भवन र पूर्वाधारको उपभोग गरेबापत बुझाउनुपर्ने बक्यौता रकम तिर्न आनाकानी गरेपछि लिमिटेडले बुधबारदेखि कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । यस कारबाहीको पहिलो दिन नै बक्यौता रकममध्ये करिब १० करोड रुपैयाँ असुल भएको लिमिटेडले जनाएको छ ।

कारबाहीमा परेका उद्योगहरूमध्ये सबैभन्दा बढी बालाजु औद्योगिक क्षेत्रका २४ वटा उद्योग रहेका छन्। त्यसैगरी, हेटौंडाका १३, पाटनका ७, पोखराका ५, बुटवलका ४ र भक्तपुरका ४ वटा उद्योगको पनि लाइन काटिएको छ । साथै, नेपालगञ्ज, धरान र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा रहेका केही उद्योगहरू पनि यस सूचीमा परेका छन्। लाइन काटिएपछि बक्यौता चुक्ता गर्न तत्परता देखाएका बालाजुका ४, पाटनका २, पोखराको १ र नेपालगञ्जको १ गरी कुल ८ वटा उद्योगको लाइन भने तत्काल पुनः जडान गरिएको छ ।

हाल ५५ वटा उद्योगहरूको विद्युत् र पानीको आपूर्ति पूर्ण रूपमा बन्द गरिएको छ । लिमिटेडले बक्यौता नतिर्ने अन्य उद्योगहरूको लाइन काट्ने क्रम बिहीबार पनि जारी राखेको छ । भाडा र महसुल भुक्तानीमा भइरहेको ढिलासुस्तीलाई निरुत्साहित गर्न र सरकारी राजस्व असुलीलाई प्रभावकारी बनाउन यो कदम चालिएको हो । लामो समयदेखि थन्किएको बक्यौता रकम उठाउन लिमिटेडले गरेको यो कारबाहीलाई औद्योगिक क्षेत्रमा सुधारको प्रयासका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार
भर्खरै