७ असार, चितवन । राष्ट्रिय राजनीतिमा फरक ध्रुवमा रहेका राजनीतिक दलहरूबीचको सम्बन्धमा नयाँ आयाम थपिँदै गर्दा नेपाली कांग्रेसका महामन्त्री गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन् ।
चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आजदेखि सुरु हुन लागेको रास्वपाको महाधिवेशनमा थापाले उद्घाटन सत्रलाई सम्बोधन गर्दै शुभकामना मन्तव्य राख्ने कार्यक्रम तय भएको छ ।
पछिल्लो समय प्रमुख विपक्षी दलका नेताहरूको उपस्थितिलाई अर्थपूर्ण रूपमा लिइएको छ । रास्वपाले आफ्नो स्थापनाको छोटो समयमै आयोजना गरेको यस महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा पठाएको थियो ।
सोही निमन्त्रणालाई स्वीकार गर्दै महामन्त्री थापा चितवन पुग्ने उनका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिएका छन् । राजनीतिक प्रतिस्पर्धाका बीच पनि एकअर्काको कार्यक्रममा सहभागी भएर विचार आदानप्रदान गर्नुलाई लोकतान्त्रिक संस्कार र राजनीतिक परिपक्वताको रूपमा हेरिएको छ । आज हुने यो उद्घाटन सत्रमा थापाको उपस्थिति र सम्बोधनले रास्वपाको महाधिवेशनलाई थप चर्चामा ल्याएको छ ।
















