११ असार, काठमाडौँ । नेपालका जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्ममा कुल १ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क (प्रिमियम) संकलन गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर सञ्चालित जीवन बीमा कम्पनीहरूले जेठ मसान्तसम्म कुल १ करोड १७ लाख ३७ हजार २९८ वटा बीमा पोलिसी बिक्री गरी कुल १ खर्ब ७३ असोज ५० करोड ७६ लाख रुपैयाँ संकलन गरेका हुन् । आर्थिक सुस्तताका बीच पनि बीमा बजारको यो व्यवसायिक अंकलाई उत्साहजनक रूपमा हेरिएको छ ।
प्राधिकरणका अनुसार बीमा बजारको ठुलो हिस्सा ओगट्दै व्यवसायको बुममा यसपटक पनि नेपाल लाइफ इनस्योरेन्स कम्पनीले आफ्नो एकलौटी वर्चस्व कायम राखेको छ । नेपाल लाइफले समीक्षा अवधिसम्म एक्लैले ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेर इतिहासकै बलियो अग्रता लिएको हो ।
त्यस्तै, २२ अर्ब २१ करोड १६ लाख रुपैयाँ संकलन गर्दै नेशनल लाइफ इनस्योरेन्स दोस्रो स्थानमा रहन सफल भएको छ भने तेस्रो स्थानमा रहेको एलआइसी नेपालले १८ अर्ब ४८ करोड ३५ लाख रुपैयाँको व्यापार गरेको छ ।
बजारमा अन्य कम्पनीहरूले पनि आफ्नो आकार बलियो बनाउँदै लगेका छन् । तथ्याङ्क अनुसार हिमालयन लाइफले १५ अर्ब ७९ करोड, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ६२ करोड र सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरी १० अर्बे क्लबमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
यसैगरी, एशियन लाइफले ८ अर्ब ७१ करोड, सिटिजन लाइफले ७ अर्ब ५९ करोड, सानिमा रिलायन्स लाइफले ६ अर्ब ६४ करोड, आईएमई लाइफले ६ अर्ब १७ करोड र विदेशी लगानीको मेट लाइफले ६ अर्ब १० करोड रुपैयाँको व्यवसाय गरेका छन् ।
सूचीको अन्तिमतिर रहेका रिलायबल नेपाल लाइफले ५ अर्ब ४१ करोड, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड र सन नेपाल लाइफले ३ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

















