११ असार,वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा प्रविधिमैत्री सेवा विस्तारलाई मुख्य प्राथमिकतामा राखिएको छ।
१४औँ नगरसभाको दोस्रो बैठकमा उपप्रमुख भोला प्रसाद अधिकारी ले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय उत्पादन वृद्धि, सेवा प्रवाहको आधुनिकीकरण, रोजगारी सिर्जना र सुशासन प्रवर्द्धनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरिएको जानकारी दिए।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट करिब ७ प्रतिशतले घटाएको छ। वडा तहका विकास योजनाका लागि मात्रै २२ करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ। संघीय सरकारबाट ७९ करोड ९ लाख रुपैयाँ तथा मधेश प्रदेश सरकारबाट ५ करोड ६२ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने आन्तरिक स्रोतबाट २५ करोड ८७ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।
कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने उद्देश्यसहित महिला कृषि स्वयंसेविका कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। कृषि सूचना प्रणालीलाई प्रविधिसँग जोड्न ‘ई–एग्रिकल्चर’ एप सञ्चालनका लागि २० लाख रुपैयाँ तथा प्रत्येक वडामा मोबाइल भेटेरिनरी सेवा सञ्चालन गर्न २० लाख रुपैयाँ व्यवस्था गरिएको छ।
पर्यटन प्रवर्द्धनअन्तर्गत अमलेखगञ्ज लाई होमस्टेसहितको पर्यटकीय केन्द्रका रूपमा विकास गरिने भएको छ। साथै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कर्मकुमारी धारा को संरक्षण तथा पुनःनिर्माणका लागि २० लाख रुपैयाँ छुट्याइएको छ।
शिक्षा क्षेत्रमा विद्यालयको सिकाइ वातावरणलाई आधुनिक बनाउन स्मार्ट बोर्ड जडान कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ। सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क पोशाक वितरण कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ।
स्वास्थ्यतर्फ निर्माणाधीन १५ शैयाको नगर अस्पताल आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने जनाइएको छ। अस्पतालबाट सामान्य शल्यक्रिया सेवा समेत सुरु गर्ने योजना बजेटमा समावेश गरिएको छ।
पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, ग्रामीण क्षेत्रमा दुईवटा साझा बस सञ्चालन, मुख्य सडकमा सीसीटीभी जडान तथा कृषि सिँचाइ कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। वडा नं. २ मा परीक्षणका रूपमा सुरु गरिएको डिजिटल घर पहिचान कार्यक्रमलाई आगामी वर्ष सबै २४ वडामा विस्तार गरिने भएको छ।
वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलाई समेत बजेटले प्राथमिकता दिएको छ। प्लास्टिकमुक्त नगर अभियान, वृक्षारोपण कार्यक्रम तथा पर्सा राष्ट्रिय निकुञ्ज सँगको सहकार्यमा पथलैया मा जंगली जनावरका लागि होल्डिङ सेन्टर निर्माण गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, बकुलिया खानेपानी आयोजनामार्फत वडा नं. ५, ६, ७ र ८ मा स्वच्छ खानेपानी वितरण सुनिश्चित गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ। सेवा प्रवाहलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने लक्ष्यसहित उपमहानगरपालिकाको डिजिटल प्रोफाइल निर्माणका लागि १ करोड २० लाख रुपैयाँ छुट्याइएको छ। आगामी वर्षदेखि नापी तथा मालपोतसम्बन्धी केही सेवा स्थानीय तहबाटै उपलब्ध गराउने तयारीसमेत गरिएको छ।
उपप्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्षमा विनियोजित २ अर्ब १ लाख रुपैयाँ बजेटमध्ये असार ९ गतेसम्म १ अर्ब ११ करोड २९ लाख रुपैयाँ अर्थात् ५५.४२ प्रतिशत खर्च भइसकेको छ। पूँजीगत खर्च ४०.४२ प्रतिशत पुगेको र आर्थिक वर्षको अन्त्यसम्म करिब ६० प्रतिशत पुर्याउने लक्ष्य रहेको उनले बताए।
नगर प्रमुख राजन पौडेल को अध्यक्षतामा सम्पन्न नगरसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ सम्बन्धी महालेखापरीक्षकको अन्तिम प्रतिवेदन प्रस्तुत गरिएको थियो। बैठकमा विभिन्न समितिका प्रतिवेदनमाथि छलफल गर्दै वित्तीय अनुशासन, पारदर्शिता तथा नीतिगत सुधारका विषयमा आवश्यक निर्णय अगाडि बढाइने जनाइएको छ।
















