१५ असार, चितवन । चितवनको माडीसँग सीमा जोडिएको सोमेश्वरगढी अहिले केवल एउटा धार्मिक स्थलमा सीमित छैन। नेपाल एकीकरणको इतिहास, राष्ट्रिय सुरक्षाको विरासत र धार्मिक आस्थाको संगमस्थलका रूपमा यसको पहिचान विस्तार हुँदै गएको छ ।
पछिल्लो समय नेपाल एकीकरणका वीर सेनानायक अभिमानसिंह बस्नेत को पूर्णकदको प्रतिमा स्थापना गरिएपछि सोमेश्वरगढीको ऐतिहासिक महत्व थप चर्चामा आएको छ ।
भरतपुरबाट जादा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रपार गरेर गएपछि सोमेश्वर पहाडमा अवस्थित गढीमा राखिएको प्रतिमा नेपाली सेनाको प्राविधिक सहयोगमा परिष्कृत गरिएको हो । प्रारम्भिक संरचनामा आवश्यक सुधार गर्दै प्रतिमालाई थप जीवन्त र ऐतिहासिक स्वरूप दिइएको बताइएको छ । प्रतिमा निर्माण तथा व्यवस्थापनमा लागेको खर्च माडी नगरपालिकाले व्यहोरेको हो ।
माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार सोमेश्वरगढीलाई धार्मिक, ऐतिहासिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि बढाइएको छ । प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा यहाँ विभिन्न पूर्वाधार निर्माण तथा संरक्षणका काम भइरहेको उनले जानकारी दिए ।
इतिहासले अभिमानसिंह बस्नेतलाई नेपाल एकीकरण अभियानका महत्वपूर्ण सेनानायकका रूपमा स्मरण गर्छ। कीर्तिपुर विजयपछिको चरणमा उनले दक्षिणी भूभागको सुरक्षा तथा प्रशासनिक व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरेको इतिहासकारहरूको भनाइ छ । सोमेश्वरगढीसँग उनको नाम जोडिनुले यो क्षेत्रलाई नेपालको एकीकरण यात्रासँग प्रत्यक्ष रूपमा जोड्ने आधार बनेको छ।
इतिहासविद्हरूका अनुसार सोमेश्वरगढीको निर्माण वा विस्तार सेनकालमा भएको मानिन्छ। विशेषगरी मुकुन्द सेन को शासनकालसँग यसको सम्बन्ध रहेको अनुमान गरिन्छ । नेपाल एकीकरणपछि भने गोरखाली सेनाले यसलाई दक्षिणी सीमाको महत्वपूर्ण सैनिक चौकीका रूपमा प्रयोग गरेको ऐतिहासिक अभिलेखहरूमा उल्लेख पाइन्छ ।
गढीको माथिल्लो भागमा रहेको सोमेश्वर कालिका–महादेव मन्दिर यस क्षेत्रको अर्को प्रमुख आकर्षण हो। भगवान् शिव र माता कालिकाको शक्तिपीठका रूपमा परिचित यो मन्दिरमा वर्षभरि दर्शनार्थीको आवागमन भइरहन्छ। दशगजा क्षेत्रसँग जोडिए पनि मन्दिर नेपालको भूभागमै अवस्थित छ र यहाँका धार्मिक गतिविधि नेपाली पूजारी तथा स्थानीय धार्मिक समितिमार्फत सञ्चालन हुँदै आएका छन् ।
विशेषगरी रामनवमीका अवसरमा लाग्ने धार्मिक मेलाले सोमेश्वरगढीलाई नेपाल–भारत धार्मिक सम्बन्धको महत्वपूर्ण केन्द्रका रूपमा समेत स्थापित गरेको छ। हरेक वर्ष हजारौं श्रद्धालुहरू यहाँ पुग्ने गरेका छन् ।
नेपाल सरकारले सोमेश्वरगढीलाई देशका एक सय प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ। पछिल्ला वर्षहरूमा सडक पहुँच विस्तार, विश्रामस्थल निर्माण, बेन्च तथा अन्य संरचना थपिँदा पर्यटकको आकर्षण उल्लेख्य रूपमा बढेको स्थानीयहरूको भनाइ छ ।
माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाका अनुसार अभिमानसिंह बस्नेतको प्रतिमा स्थापना भएपछि नयाँ पुस्ताले नेपाल एकीकरणको इतिहासलाई प्रत्यक्ष अनुभूति गर्ने अवसर पाएका छन् । प्रतिमाले गढीको ऐतिहासिक महत्वलाई थप स्पष्ट बनाएको उनको भनाइ छ।
स्थानीय धार्मिक अगुवा नीलकण्ठ सापकोटाका अनुसार वि.सं. २०२६ सालतिर यहाँ गाई चराउने क्रममा घण्टी र बाघको आकृति भेटिएपछि धार्मिक आस्था बढ्न थालेको थियो । त्यसपछि स्थानीयवासीको पहलमा वि.सं. २०५० फागुन १२ गते सोमेश्वर कालिका-महादेव मन्दिर स्थापना गरिएको थियो ।
आज सोमेश्वरगढी इतिहास, धर्म र पर्यटनको त्रिवेणी बनेको छ । वीर सेनानायकको प्रतिमा, शक्तिपीठको धार्मिक महत्व र सरकारी लगानीमा भइरहेको पूर्वाधार विकासले यस क्षेत्रलाई नेपालको प्रमुख धार्मिक-ऐतिहासिक गन्तव्यका रूपमा स्थापित गर्ने आधार बलियो बनाइरहेको छ ।

















