१६ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–२३ अन्तर्गत प्रसौनी बिर्ताको नयाँ बस्ती तथा सवैठवा टोलमा सडक ढलान निर्माण कार्य मंगलबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। दुवै सडक आयोजनाको शिलान्यास संविधानसभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले गरेका हुन्।
प्रसौनी बिर्ताको नयाँ बस्तीमा माउन्ट हर्मन स्कुलदेखि दक्षिणतर्फ नारायण बढईको घर हुँदै शम्भु ठाकुरको घरसम्म २०० मिटर लामो र १० फिट चौडा सडक ढलान गरिनेछ। त्यसैगरी सवैठवास्थित मुख्य सडकदेखि पश्चिमतर्फ रहेको ब्रम्हबाबा मन्दिरसम्म १७६ मिटर लामो तथा १२ फिट चौडा सडक पनि ढलान गरिने भएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै बिचारी यादवले पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भइरहेको दुवै सडकको काम एक साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए। उनले सडक निर्माणपछि स्थानीयको दैनिक आवतजावत सहज हुनुका साथै वर्षायाममा हुने हिलो, धुलो तथा सवारी सञ्चालनका समस्या हट्ने विश्वास व्यक्त गरे।
यादवका अनुसार सडक निर्माण सम्पन्न भएपछि प्रसौनी बिर्ताको नयाँ बस्तीका स्थानीय बासिन्दा तथा सवैठवास्थित ब्रम्हबाबा मन्दिरमा पूजा–आराधनाका लागि आउने भक्तजनसहित एक दर्जनभन्दा बढी परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
लामो समयदेखि सडकको समस्याबाट प्रभावित स्थानीयवासीले निर्माण कार्य सुरु भएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय निर्माणसहित निर्धारित समयमै काम सम्पन्न हुने अपेक्षा गरेका छन्। स्थानीयका अनुसार सडक निर्माणले क्षेत्रको आवागमन सहज बनाउनुका साथै सामाजिक तथा धार्मिक गतिविधिलाई समेत थप सहज बनाउने विश्वास गरिएको छ।

















