Logo

१९ असार, काठमाडौं । निजामती कर्मचारीहरूको स्वास्थ्य सेवालाई थप सुलभ र प्रभावकारी बनाउने उद्देश्यले सिंहदरबारभित्रै स्वास्थ्य सेवा इकाइ सञ्चालनमा ल्याइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा स्थापना गरिएको यस इकाइले अब कर्मचारीहरूलाई कार्यस्थलमै आधारभूत स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउनेछ । निजामती कर्मचारी अस्पतालको सेवा इकाइका रूपमा सञ्चालित यस केन्द्रले अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न र कर्मचारीहरूलाई स्वास्थ्य उपचारका लागि अस्पतालसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

यस इकाइबाट निजामती कर्मचारीका साथै मन्त्रालयमा आउने सेवाग्राहीले समेत लाभ लिन सक्नेछन् । यहाँ सामान्य स्वास्थ्य परीक्षणका साथै रगत परीक्षण लगायतका आवश्यक सेवाहरू उपलब्ध हुनेछन् ।

आज उद्घाटन गरिएको यस सेवाको सुरुवात गर्दै मन्त्री प्रतिभा रावलले आफैँ आफ्नो रक्तचाप (प्रेसर) परीक्षण गराई सेवाको औपचारिक शुभारम्भ गर्नुभएको छ। कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध भएपछि कर्मचारीहरूको कार्यक्षमतामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार