Logo

१९ असार, काठमाडौं । सप्तरीको राजविराजस्थित कारागार सुरक्षामा खटिएका एक प्रहरी जवान आफ्नो सहकर्मीको एसएलआर राइफलबाट चलेको गोली लागेर गम्भीर घाइते भएका छन् ।

बुधबार राति करिब ११ः२० बजे कारागारको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा ड्युटीमा रहेका प्रहरी जवान बिसोजित राय यादव शौचालयबाट आफ्नो पोस्टतर्फ फर्किँदै गर्दा नजिकैको पोस्टमा रहेका सहकर्मी प्रहरी जवान अजय कुमार मेहताको एसएलआरबाट अचानक गोली चलेको थियो । उक्त गोली यादवको ढाडमा लागेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै घाइते यादवलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) पठाइएको छ ।

घटनामा संलग्न प्रहरी जवान मेहतालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ । घटना के कति कारणले हुन पुग्यो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार