१९ असार, काठमाडौं । सिरहामा लागुऔषधको अवैध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो र स्थानीय प्रहरीको संयुक्त टोलीले भारतको मधुवनीका ३५ वर्षीय अब्दुल कलामलाई पक्राउ गरेको हो । पक्राउ पर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिन खुट्टामा एक राउन्ड गोली चलाउनुपरेको थियो ।
प्रहरी कारबाहीका क्रममा कलामको साथबाट कटुवा पेस्तोल, दुई राउन्ड गोली र ११५ ग्राम हेरोइन बरामद भएको छ । लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा पछ्याउँदै गरेको प्रहरी टोलीमाथि उनले अवरोध सिर्जना गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको हो ।
घाइते कलामको अहिले उपचार भइरहेको छ भने यस घटनाका सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



















