२० असार,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको सय दिनको कार्यसम्पादनलाई पूर्णतः असफल भएको टिप्पणी गरेका छन्।
लुम्बिनी प्रदेशस्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका उनले पत्रकारहरूसँगको कुराकानीमा सरकारप्रति कडा आलोचना गरेका हुन्। उनले जनतालाई दिइएका आश्वासनअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाए।
प्रचण्डले भने, “जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यस अर्थमा यो सरकारको सय दिन पूर्णतः असफल भएको देख्छु।”
उनले सरकारको नीति तथा कार्यान्वयन दुवै पक्षमा कमजोरी रहेको संकेत गर्दै जनअपेक्षाअनुसार परिणाम नआएको दाबी गरे।
त्यसैगरी, उनले वाम एकताको तत्काल सम्भावना नरहेको स्पष्ट पार्दै अहिले सहकार्य र समन्वयमा जोड दिइएको बताए। उनका अनुसार वाम एकताभन्दा पनि कांग्रेस, एमाले लगायत सबै राजनीतिक शक्तिहरूसँग सहकार्यको बाटोमा संवाद अघि बढिरहेको छ।
उनले भने, “वाम एकताको कुरा अहिले होइन, सहकार्यको कुरा हो। हामी त्यसका लागि सबैसँग समन्वय गरिरहेका छौँ।”
प्रचण्डको यो अभिव्यक्तिले वर्तमान राजनीतिक समीकरण, सरकारको कार्यसम्पादन र विपक्षी दलहरूको रणनीतिबारे नयाँ बहस सुरु गरेको छ।


















