Logo

 २० असार,काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको इतर पक्षको विस्तारित बैठक सोमबार बोलाएका छन्। बैठक काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो २ बजे बस्ने तय भएको छ।

इतर पक्षका नेताहरूका अनुसार बैठकमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूलाई सहभागी हुन निमन्त्रणा गरिएको छ।

बैठकको मुख्य एजेन्डा इतर पक्षको राष्ट्रिय भेलाको मिति र कार्यतालिका तय गर्नु रहने जनाइएको छ। देउवा पक्षका एक नेताका अनुसार विस्तारित बैठकले राष्ट्रिय भेलाको तिथि–मिति टुंगो लगाउनेछ।

यसअघि शुक्रबार पूर्णबहादुर खड्काको निवासमा इतर पक्षका शीर्ष नेताहरूको बैठक बसेको थियो। बैठकमा डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, रमेश लेखक, डा. प्रकाशशरण महत, एनपी साउद, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र श्याम घिमिरेलगायत सहभागी थिए।

उक्त बैठकले असारभित्रै राष्ट्रिय भेला आयोजना गर्ने सहमति गरेको थियो। साथै, पार्टी सभापति गगन थापासहित संस्थापन पक्षसँग पार्टी एकताका लागि भएका छलफलबारे नेताहरूलाई जानकारी गराइएको थियो।

बैठकमा संस्थापन पक्ष पार्टी एकताप्रति पर्याप्त गम्भीर नदेखिएको निष्कर्ष निकालिएको बताइएको छ। अब इतर पक्षको आगामी रणनीति र संगठनात्मक दिशा राष्ट्रिय भेलामार्फत तय गरिने नेताहरूले बताएका छन्।


सम्बन्धित समाचार