२२ असार, काठमाडौं । नवलपरासी (पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक पदको दुरुपयोग गर्दै गैरकानुनी रूपमा साढे ३ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले सोमबार उनी र उनको परिवारका सदस्यहरूविरुद्ध आरोपपत्र दायर गरेको हो ।
अख्तियारले २०७४ देखि २०७९ सम्मको अध्यक्ष गुप्ताको पाँचवर्षे कार्यकाललाई अनुसन्धानको दायरामा राखेको थियो ।
सो अवधिमा गुप्ता र उनको परिवारको कुल वैधानिक आम्दानी ३ करोड ५१ लाख ५२ हजार रुपैयाँ देखिए पनि खर्च र लगानी भने ६ करोड ९७ लाख ८१ हजार रुपैयाँभन्दा बढी भेटिएको छ । अनुसन्धानका क्रममा गुप्ताले आफ्नो वैध आम्दानीभन्दा ३ करोड ४५ लाख ९९ हजार रुपैयाँ बढी रकम विभिन्न जग्गा खरिद, घर निर्माण, सेयर लगानी, बैंक ऋण भुक्तानी र सवारीसाधन खरिदमा खर्च गरेको पुष्टि भएको छ ।
परिवारका सदस्य पनि प्रतिवादी
सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरी कमाएको अकुत सम्पत्ति गुप्ताले आफ्ना परिवारका सदस्यहरूको नाममा लुकाएको पाइएको छ । सोही आधारमा अख्तियारले अध्यक्ष गुप्ताका साथै उनका बुवा बंशराज गुप्ता, आमा धानमती तेली तथा दुई श्रीमती सुलोचना गुप्ता र शारदा आचार्य गुप्तालाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार निवारण ऐन बमोजिम अकुत सम्पत्ति जफत गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएसँगै स्थानीय सरकारको नेतृत्वमा रहेका व्यक्तिहरूको आर्थिक पारदर्शीताबारे पुनः एकपटक बहस सुरु भएको छ ।



















