२२ असार,वीरगञ्ज । बारा जिल्लाको निजगढ नगरपालिका–१, गोरु बजार क्षेत्रमा दाउ प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। घटनापछि आक्रमणमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मिति २०८३ साल असार २२ गते बिहान करिब ११:५० बजे स्थानीय धन बहादुर घिमिरे (अन्दाजी ५०) र मान बहादुर योन्जन (अन्दाजी ४०) बीच कुनै कारणवश झै-झगडा भएको थियो।
सोही क्रममा धन बहादुर घिमिरेले मासु काट्ने दाउले मान बहादुर योन्जनमाथि प्रहार गर्दा उनको टाउको र गर्दनमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते योन्जनको हाल मध्यम सिटी अस्पताल, निजगढमा उपचार भइरहेको छ।
घटनापछि दाउ प्रहार गर्ने घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय निजगढ, बारामा राखिएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक दाताराम अधिकारीको कमाण्डमा ५ जनाको टोली र प्रहरी चौकी सिगौलबाट प्रहरी सहायक निरीक्षक मनोज तिवारीको कमाण्डमा २ जनाको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



















