Logo

२२ असार,वीरगञ्ज । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश कुमार पटेलले मधेस सरकारले रोजगारी प्रवर्द्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रसँगको साझेदारीलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।

वीरगञ्जमा आयोजित एकदिने बृहत् रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री पटेलले बेरोजगार युवा–युवतीलाई रोजगारीसँग जोड्ने, उनीहरूको सीप तथा क्षमताको सदुपयोग गर्ने तथा निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ बनाउने प्रभावकारी माध्यमका रूपमा रोजगार मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले रोजगार मेलाले रोजगारदाता र रोजगारी खोज्ने युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी दक्ष जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले निजी क्षेत्रले रोजगारी सिर्जनामा निर्वाह गरिरहेको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले रोजगार मेला केवल रोजगारी खोज्ने र दिने पक्षबीचको भेटघाटमा सीमित नभई दक्ष जनशक्ति र उद्योग–व्यवसायबीच प्रभावकारी सेतुका रूपमा स्थापित भएको बताए। उनले उद्योग तथा श्रम बजारको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

रोजगार मेला संयोजक अनुप अग्रवालले रोजगारदाता र रोजगारीको अवसर खोजिरहेका युवाबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी रोजगारी सिर्जनामा योगदान पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)को सहयोग तथा वीरगञ्ज महानगरपालिका, नेपाली युवा उद्यमी मञ्च (वीरगञ्ज च्याप्टर) र एचआर सोसाइटीको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ, महासंघ–मधेस प्रदेश र वीरगञ्ज उद्योग वाणिज्य संघले संयुक्त रूपमा रोजगार मेलाको आयोजना गरेका हुन्।

मेलामा विभिन्न क्षेत्रका २५ भन्दा बढी प्रतिष्ठित कम्पनी तथा संस्थाहरू सहभागी भएका थिए भने ५०० भन्दा बढी युवा–युवतीले रोजगारी तथा स्वरोजगारका अवसरबारे जानकारी लिन सहभागिता जनाएका आयोजकले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै