२२ असार,काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा पुगेर उनले राजीनामा पत्र बुझाएका हुन् ।
सरकारले हालै अध्यादेशमार्फत विभिन्न नियामक निकायका प्रमुखहरूलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएसँगै संस्थानका नेतृत्वकर्ताहरूमाथि पनि राजीनामाका लागि दबाब बढ्दै गएको थियो । सोही क्रममा नेप्सेका सीईओ चापागाईंलाई समेत अर्थ मन्त्रालयले राजीनामाका लागि दबाब दिएको स्रोतको दाबी छ ।
केही समयअघि नेप्सेले ‘बुक बिल्डिङ’ विधिमार्फत शेयर निष्काशनका लागि चिया विकास निगमसँग सम्झौता गरेको थियो । उक्त सम्झौताको प्रक्रियालाई लिएर नेप्सेको सञ्चालक समितिले सीईओ चापागाईंलाई स्पष्टीकरण सोधेको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार, सोही स्पष्टीकरण दिने प्रक्रियाका बीचमा उनीमाथि राजीनामा दिन चौतर्फी दबाब सिर्जना गरिएको थियो ।
नियामक निकाय र संस्थानहरूमा भइरहेको पछिल्लो फेरबदलका बीच चापागाईंको बहिर्गमनलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।



















