२२ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनामा हेरफेर गर्दै पार्टीमा दुई वा सोभन्दा बढी ‘वरिष्ठ नेता’ राख्न सक्ने व्यवस्था गरेको छ ।
चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट पारित नयाँ विधानमा यस्तो व्यवस्था गरिएको हो । विधानअनुसार पार्टीको नीति निर्माण र सांगठनिक सुदृढीकरणमा विशेष योगदान पुर्याएका तथा उच्च राजनीतिक अनुभव हासिल गरेका व्यक्तिहरूलाई पार्टी सभापतिको प्रस्तावमा केन्द्रीय समितिले वरिष्ठ नेताका रूपमा मनोनीत गर्न सक्नेछ ।
मर्यादाक्रमका हिसाबले सभापतिपछिको दोस्रो स्थान वरिष्ठ नेताको हुने भए पनि एकभन्दा बढी वरिष्ठ नेता भएमा उनीहरूको वरीयता केन्द्रीय समितिले तोकेबमोजिम हुनेछ ।
महाधिवेशनअघि नै बालेन्द्र शाहलाई वरिष्ठ नेता मान्दै आएको रास्वपाले विधानमा गरेको यो व्यवस्थासँगै अब बालेनसहित अन्य नेताहरूलाई पनि सो पदमा मनोनीत गर्ने बाटो खुलेको छ । महाधिवेशन सम्पन्न भए पनि हालसम्म पार्टीले वरिष्ठ नेतासहित अन्य पदाधिकारीहरूको औपचारिक चयन भने गरिसकेको छैन ।



















