Logo

२२ असार,काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। बजारका सबै उपसूचकहरू रातो हुँदा नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.३१ को बिन्दुमा सीमित भएको छ ।

बजारमा बिक्री चाप बढ्दा कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार त्यो घटेर ३ अर्ब ५५ करोड रुपैयाँमा खुम्चिएको छ ।

बजारमा लगानीकर्ताको मनोबल कमजोर देखिँदा ३४ कम्पनीको मूल्य बढेको छ भने २३९ कम्पनीको मूल्यमा गिरावट आएको छ। साथै, ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन ।

सबै उपसमूहमा दबाब

सोमबार बजारमा सबै उपसमूह ओरालो लागेका छन् । विशेषगरी व्यापार समूहमा सर्वाधिक ३.१५ प्रतिशतको गिरावट आएको छ। त्यस्तै, बैंकिङ १।०६ प्रतिशत, फाइनान्स १.२४ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१७ प्रतिशत र निर्जीवन बीमा ०.९८ प्रतिशतले घटेका छन् ।

बजार समग्रमा रातो देखिए पनि हालै सूचीकृत भएका केही नयाँ कम्पनीमा भने लगानीकर्ताको उत्साह कायमै छ । सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर र स्नो रिभर फल्सको मूल्य १० प्रतिशतभन्दा माथि बढेको छ। यसका साथै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि राम्रो सुधार देखिएको छ ।

यी कम्पनीमा लगानीकर्ताको चाप

यता, थ्रीस्टार हाइड्रोपावरको मूल्यमा सर्वाधिक १३.७९ प्रतिशतको गिरावट देखिएको छ भने अघिल्लो दिन उच्च वृद्धि हासिल गरेको नेपाल फाइनान्सको मूल्यमा ११.६४ प्रतिशतको करेक्सन आएको छ ।

सोमबारको कारोबारमा सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र आँखुखोला जलविद्युत् जस्ता कम्पनीहरू सर्वाधिक कारोबार हुने सूचीमा अग्रस्थानमा रहेका छन् ।


सम्बन्धित समाचार
भर्खरै