Logo

२२ असार, काठमाडौं । सीमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने र जङ्गली हात्तीको समस्याबाट आक्रान्त बाहुण्डाँगी क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यसहित गृहमन्त्री सुदन गुरुङ झापाको भ्रमणमा रहनुभएको छ ।

दुईदिने भ्रमणका लागि आइतबार राति झापा आइपुग्नुभएका गृहमन्त्री गुरुङले जिल्लाको समग्र सुरक्षा चुनौती र समसामयिक विषयमा सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ ।

अर्जुनधारा नगरपालिका–११ स्थित सालबारीमा जिल्ला सुरक्षा समितिका प्रमुखहरूसँगको भेटमा गृहमन्त्री गुरुङले सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागुऔषध ओसारपसार र मानव बेचबिखनजस्ता गम्भीर सुरक्षा चुनौतीबारे चासो राख्नुभएको छ ।

उहाँले मेचीनगर–७ स्थित सशस्त्र प्रहरीको जोरसिमल चेकपोस्ट र काँकरभिट्टा नाकाको स्थलगत निरीक्षण गर्दै सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई थप सतर्क र प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिनुभएको छ । साथै, मेची भन्सार कार्यालयको अनुगमन गरी राजस्व सङ्कलन र आवतजावतको अवस्थाबारे जानकारी लिनुभएको छ।

भ्रमणको मुख्य पाटोका रूपमा रहेको बाहुण्डाँगी क्षेत्रको हात्ती प्रभावित समस्यालाई गृहमन्त्री गुरुङले उच्च प्राथमिकतामा राख्नुभएको छ । लामो समयदेखि जङ्गली हात्तीको आतंक खेपिरहेका स्थानीयवासीको समस्या बुझ्न उहाँ आज सो क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रभावित बस्तीको स्थलगत निरीक्षणका साथै स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूसँग प्रत्यक्ष संवाद गरी समस्या समाधानको अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे उहाँले छलफल गर्ने कार्यक्रम रहेको छ । गृहमन्त्रीको भ्रमणलाई लक्षित गर्दै झापामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विगत ३६ घण्टादेखि सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालन भएका छन् ।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले बुद्धशान्ति गाउँपालिका–६ मा घाइते भएका अनिकेत चौलागाईँसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिनुभएको छ ।


सम्बन्धित समाचार
भर्खरै