२३ असार, जनकपुरधाम । व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले सिंहदरबारको सम्पूर्ण प्रणाली सरकारमै रहेका राजनीतिक दल र व्यक्तिहरूका कारण कमजोर बनेको आरोप लगाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वसांसद धवलशम्शेर राणासँगै सोमबार जनकपुरधाम पुगेका प्रसाईंले सञ्चारकर्मीहरूसँग कुरा गर्दै वर्तमान सत्ता गठबन्धनको कडा आलोचना गरेका हुन् ।
विगतको राजनीतिक आन्दोलनतर्फ सङ्केत गर्दै प्रसाईंले भने, “हिजो सिंहदरबारमा आगो लगाउने र राज्य संयन्त्र भत्काउनेहरू नै आज सत्ताको बागडोर सम्हाल्न पुगेका छन्। जसले गर्दा देशको समग्र शासकीय प्रणाली र थिति बिग्रिएको छ।”
वर्तमान सरकारले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको सन्दर्भ उल्लेख गर्दै प्रसाईंले आफूहरूले सरकारको कार्यसम्पादनको सुक्ष्म समीक्षा गरिरहेको जानकारी दिए। सरकारका कामकारबाही, उपलब्धि र कमजोरीबारे छिट्टै तथ्यगत समीक्षासहितको भिडियो डकुमेन्ट्री सार्वजनिक गर्ने तयारी भइरहेको उनले दाबी गरे।
सञ्चारकर्मीहरूसँगको संवादमा प्रसाईंले सरकारको विदेश नीति र नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमाथि समेत गम्भीर प्रश्न उठाए। नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति र भूराजनीतिक संवेदनशीलतालाई वर्तमान सरकारले लत्याएको उनको आरोप थियो।
“नेपालमा विगतमा कहिल्यै पनि तिब्बती शरणार्थी नेता दलाई लामाको जन्मोत्सव यसरी खुला रूपमा मनाइने गरिएको थिएन,” प्रसाईंले दाबी गरे, “अहिले सरकारकै मौन स्वीकृतिमा यस्ता गतिविधि हुन थालेका छन्। यसले नेपालले ‘एक चीन नीति’ विपरीतको विषयलाई स्वीकार गरेको कूटनीतिक सन्देश अन्तर्राष्ट्रिय स्तरमा गएको छ, जुन राष्ट्रिय हित अनुकूल छैन।” उनले राष्ट्रिय सुरक्षा र सार्वभौमिकतालाई केन्द्रमा राखेर मात्र बाह्य नीति तय गर्न सरकारलाई सचेत गराए ।
नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गरिनुपर्ने एजेन्डासहित देशव्यापी दौडाहामा रहेका प्रसाईंको मंगलबार जनकपुरधाममा विभिन्न कार्यक्रमहरू तय गरिएका छन्। महाअभियानका अनुसार उनले मंगलबार बिहान ऐतिहासिक जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नेछन् ।
त्यसलगत्तै जनकपुर नगर क्षेत्रमा अभियानका कार्यकर्तासहितको सहभागितामा बृहत् जुलुस प्रदर्शन गर्ने, दिउँसो अगुवा कार्यकर्ताहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्ने र साँझ जानकी मन्दिर परिसरमा महाआरतीसँगै दीप प्रज्वलन कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ। प्रसाईंको जनकपुर आगमन र प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।



















