Logo

२३ असार,काठमाडौं । फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल चरणअन्तर्गत आज राति साविक विजेता अर्जेन्टिना र इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ९ः४५ बजे अमेरिकाको एटलान्टा रंगशालामा सुरु हुनेछ।

अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डेलाई ३–२ ले पराजित गर्दै अन्तिम–१६ मा स्थान बनाएको हो भने इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर प्रि–क्वाटरफाइनल यात्रा तय गरेको थियो। अर्जेन्टिना समूह ‘जे’ को विजेता र इजिप्ट समूह ‘जी’ को उपविजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्।

विश्वकप इतिहासमा अर्जेन्टिना र इजिप्टबीच यो पहिलो भेट हुनेछ। यसअघि सन् १९२८ को ओलम्पिक फुटबल र २००८ को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इजिप्टलाई पराजित गरेको थियो।

यस्तै, विश्वकपको अन्तिम प्रि–क्वाटरफाइनल खेलमा भोलि बिहान १ः४५ बजे स्विट्जरल्यान्ड र कोलम्बिया आमनेसामने हुनेछन्। खेल क्यानडाको बीसी प्लेस रंगशालामा हुनेछ।

स्विट्जरल्यान्डले नकआउट चरणमा अल्जेरियालाई २–० ले पराजित गरेको थियो भने कोलम्बियाले घानालाई १–० ले हराउँदै अन्तिम–१६ मा स्थान बनाएको हो। स्विट्जरल्यान्ड समूह ‘बी’ र कोलम्बिया समूह ‘के’ का विजेताका रूपमा यस चरणमा पुगेका हुन्।

विश्वकपमा स्विट्जरल्यान्ड र कोलम्बियाबीच यो दोस्रो भेट हुनेछ। यसअघि सन् १९९४ को विश्वकपमा कोलम्बियाले स्विट्जरल्यान्डलाई २–० ले पराजित गरेको थियो। दुई टोलीबीच भएका अन्य मैत्रीपूर्ण तथा मियामी कपका खेलमा पनि कोलम्बियाले दुई जित निकालेको छ भने एक खेल बराबरीमा सकिएको थियो।


सम्बन्धित समाचार