Logo

२३ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूको अवस्थाबारे संसद्लाई जानकारी दिँदै अत्यन्तै गम्भीर र दुखद तथ्याङ्क सार्वजनिक गर्नुभएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा मन्त्री खनालले हालसम्म रुसी सेनामा रहेका १३१ जना नेपालीको मृत्यु भइसकेको जानकारी दिनुभएको छ । यसका साथै, ९५ जना नेपाली नागरिक बेपत्ता रहेको र ९ जना युक्रेनमा बन्दी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

सरकारको नीतिबारे प्रष्ट पार्दै मन्त्री खनालले परम्परागत सम्झौता भएका मुलुकबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुने कार्यलाई अनुमति दिने सरकारको कुनै नीति नरहेको दोहोर्‍याउनुभयो । मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न रुसी सरकारसँग नेपालले औपचारिक रूपमै आग्रह गरिसकेको उहाँले जानकारी दिनुभयो ।

यसका अतिरिक्त, परराष्ट्र मन्त्रालयले आगामी आर्थिक वर्षका लागि आफ्नो प्राथमिकता र कूटनीतिक दृष्टिकोण सार्वजनिक गरेको छ। परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने लक्ष्यसहित सरकारले सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, ऊर्जा र पर्यटनमा विदेशी लगानी आकर्षण गर्न विशेष कार्यक्रम अघि सारेको छ ।

मन्त्रालयले ‘ब्राण्ड नेपाल’ अभियानमार्फत नेपाली संस्कृति र उत्पादनको विश्वव्यापी प्रवर्द्धन गर्ने तथा विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि पहिलो पटक छुट्टै बजेट विनियोजन गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलित कूटनीतिमार्फत अघि बढाउने र सीमा विवादलाई ऐतिहासिक तथ्यका आधारमा समाधान गर्ने सरकारको प्रतिबद्धता रहेको मन्त्री खनालले बताउनुभयो ।


सम्बन्धित समाचार