२६ असार, काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छ ।
पहिचान खुल्नेमा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. १ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली रहेका छन् । पेसाले पठाओ (राइड सेयरिङ) चालक रहेका नेपालीको काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि उत्पन्न विवाद र आक्रोशका कारण उनले यस्तो आत्मघाती कदम चालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरी र प्रत्यक्षदर्शीका अनुसार, बिहीबार दिउँसो करिब पौने २ बजे विभागको ३ नम्बर गेट नजिकै निषेधित क्षेत्र ९नो पार्किङ० मा मोटरसाइकल राखेको भन्दै नगर प्रहरीले उनको सवारीमा ह्वील लक लगाएको थियो ।
आफ्नो रोजीरोटीको माध्यम रहेको मोटरसाइकलमा साँचो लागेपछि आक्रोशित बनेका नेपालीले सोही मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका थिए । घटनालगत्तै प्रहरी टोलीले आगो निभाएर उनलाई उद्धार गरी तत्कालै महाबौद्धस्थित वीर अस्पताल पुर्याएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार वीर अस्पतालको बर्न युनिटमा उपचाररत नेपालीको अवस्था निकै गम्भीर रहेको छ । उनको शरीरका विभिन्न भागहरू आगोले जलेका छन् भने उनी हाल सामान्य बोल्न सक्ने अवस्थामा रहेका छन् ।
व्यस्त सार्वजनिक स्थलमा महानगर प्रहरीको कारबाही र त्यसपछि पठाओ चालकले आक्रोशमा लिएको यो आत्मघाती बाटोले सर्वसाधारणलाई स्तब्ध बनाएको छ भने प्रहरीले घटनाको थप सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।



















