२५ असार,वीरगञ्ज । किस्ताबन्दीमा विभिन्न घरायसी तथा विद्युतीय सामग्री उपलब्ध गराउने भन्दै सञ्चालनमा आएको ‘अल्ट्रा अभियान डिजिटल वल्र्ड’का सञ्चालकविरुद्ध करोडौँ रुपैयाँ ठगी गरेको आरोपसहित जिल्ला प्रशासन कार्यालय पर्सामा सामूहिक उजुरी परेको छ।
वीरगञ्जका सोनालाल पटेल, रामजी साह कलवार र जितेन्द्र पाण्डेयलगायतका पीडितले संस्थाका सञ्चालक दीपेश बर्नवाल, सुशील सर्राफ, विष्णु काफ्ले र ऋषिकान्त गुप्ताविरुद्ध असार २३ गते जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता गराएका हुन्।
पीडितहरूका अनुसार करिब तीन वर्षअघि सञ्चालनमा आएको संस्थाले प्रत्येक सदस्यबाट ३१ हजार ७२५ रुपैयाँका दरले रकम संकलन गरेको थियो। केही सदस्यलाई १२ देखि १५ हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइए पनि अधिकांशले हालसम्म कुनै सामान प्राप्त गर्न सकेका छैनन्।
पीडितहरूको आरोपअनुसार सञ्चालक दीपेश बर्नवाल, सुशील सर्राफ र विष्णु काफ्ले लामो समयदेखि सम्पर्कविहीन छन्। अर्का साझेदार ऋषिकान्त गुप्ता वीरगञ्जमै रहे पनि पीडितलाई सामान उपलब्ध गराउन वा समस्या समाधान गर्न कुनै पहल नगरेको आरोप लगाइएको छ। संस्थाका लेखापाल तथा सञ्चालक दीपेश बर्नवालका छोरा योगेश बर्नवालविरुद्ध समेत उजुरीमा उल्लेख गरिएको एक बजार प्रतिनिधिले जानकारी दिए।
पीडितहरूका अनुसार सञ्चालकहरूबीचको मतभेद र आर्थिक अनियमितताका कारण संस्थाको काम प्रभावित भएको हो। यसको प्रत्यक्ष असर सेवाग्राहीमाथि परेको उनीहरूको भनाइ छ। हजारौँ सदस्यबाट रकम संकलन गरिए पनि संस्थाले गरेको प्रतिबद्धताअनुसार सामान वितरण नगरेको उनीहरूको दाबी छ।
संस्थासँग आबद्ध बजार प्रतिनिधिहरूले पनि आफूहरू ठगिएको बताएका छन्। संस्थाको विश्वासमा परेर सर्वसाधारणलाई सदस्य बनाएको तर अहिले सामान नपाएपछि सेवाग्राहीबाट गालीगलौज, धम्की तथा मानसिक तनाव झेल्नुपरेको उनीहरूको गुनासो छ। आफूहरूले संकलन गरेको रकम र वितरण हुनुपर्ने सामानको हिसाबसमेत नपाएको उनीहरूले बताएका छन्।
पीडित सेवाग्राही तथा बजार प्रतिनिधिहरूले आफूहरूबाट संकलन गरिएको रकम फिर्ता गराइदिन र घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा सामूहिक उजुरी दिएका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साले प्राप्त उजुरीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। घटनाको वास्तविक अवस्था, पीडितको संख्या तथा आर्थिक क्षतिको यकिन विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रशासनले जनाएको छ।



















