२५ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा सिरहा र पर्साका गरी दुई पालिकाका कर्मचारी र पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा सरकारी कागजात सच्याएर भ्रष्टाचार गरेको पाइएपछि आयोगले कडाइका साथ कानुनी प्रक्रिया अघि बढाएको हो । सिरहाको विष्णुपुर गाउँपालिकामा भएको अनियमितता प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतसहित ८ जना प्रतिवादी बनाइएका छन् ।
धान प्रशोधन उद्योग स्थापनाका लागि नेपाल सरकारबाट प्राप्त रकममा मिलोमतो गरी फर्जी मूल्याङ्कनका आधारमा भुक्तानी लिइएको भन्दै उनीहरूविरुद्ध जनही ४९ लाख २० हजार ९०३ रुपैयाँ बिगो माग दाबी गरिएको छ । यस मुद्दामा अधिकृत महतसहित इन्जिनियर अनिक यादव, लेखापाल रमेश गदाल, साना किसान कृषि सहकारी संस्थाका पदाधिकारीहरू र उपभोक्ता समितिका सदस्यहरू मुछिएका छन् ।
त्यस्तै, पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्र वितरणमा सरकारी कागजात सच्याई रकम हिनामिना गरेको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । यस प्रकरणमा तत्कालीन अधिकृत संजयकुमार पाण्डेय, कर्मचारी अम्बिका महतो र महेन्द्र राउतकुर्मीविरुद्ध जनही १ लाख ९१ हजार ५२० रुपैयाँ बिगो माग गरिएको छ ।
स्थानीय तहमा भइरहेका यस्ता शृङ्खलाबद्ध अनियमितताहरूविरुद्ध अख्तियारले अनुसन्धानलाई तीव्रता दिएसँगै जिम्मेवार पदमा रहेकाहरू कानुनी दायरामा आउन थालेका छन् ।



















